बसभित्रै किशोरीलाई बलात्कार गर्न खोज्ने चालक र सहचालक पक्राउ

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 १०:२२:०० मा प्रकाशित

विराटनगर– मोरङमा १५ वर्षीया किशोरीलाई बसभित्रै बलात्कार गर्न खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ। 

ना ६ ख ९३४४ नम्बरको यात्रु बसका चालक मोरङको रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो। 

धनकुटा घर भई दमक नगरपालिका निवासी आफन्तकहाँ बस्दै आएकी १५ वर्षीय बालिकालाई गत २२ गते उनीहरुले बसभित्रै बलात्कार गर्न खोजेका थिए। बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई फकाएर पथरी शनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजार घुमाउँदै साँझ साँढे ६ बजे उनीहरुले बलात्कार गर्न खोजेको प्रहरीले जनाएको छ। 

पीडित बालिकाले प्रतिकार गरी चिच्याएपछि स्थानीयवासीले प्रहरीलाई सूचना दिएका थिए।

इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। 

पक्राउ परेकालाई कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।