बुधबार आन्दोलनका क्रममा सिएमसीका विद्यार्थी र अस्पताल प्रवेशमा रोक्दै प्रहरी।
काठमाडौं- प्रहरी नियन्त्रणमा राखिएका चितवन मेडिकल कलेज (सिएमसी)मा आन्दोलनरत एक दर्जनभन्दा बढी विद्यार्थीलाई हिरासतमुक्त गरिएको छ।
सिएमसीमा आन्दोलनमा उत्रिएका उनीहरुलाई बुधबार बिहान नियन्त्रणमा लिइएको थियो।
'आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीरुलाई नियन्त्रणमा लिएका थियौं, 'जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी शालिकराम शर्माले भने, 'उनीहरुलाई सबैलाई आज छोडिएको छ।'
प्रहरीले सोही मेडिकल कलेजमा अध्ययनरत तथा विद्यार्थी संर्घष समितिका अध्यक्षसमेत रहेका प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरेको थियो। चन्द नेत्रविक्रम चन्द विप्लवका छोरासमेत हुन्।
विद्यार्थीबाट सरकारले निर्धारण गरेको भन्दा बढी शूल्क लिएको स्वीकार गर्दै मेडिकल कलेजले र्फिता गर्ने सहमति गरे पनि सो कार्यान्वयन नगरेको, लाइसेन्स प्राप्त नर्सलाई समेत भोलेन्टिएर राखिएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। उनीहरुले आइओएमबाट सम्बन्धन प्राप्त कलेजहरुले पनि आइओमले जस्तै वैकल्पिक विषयहरुमा अध्यापन गराउनुपर्ने तथा पुरानो पाठ्यक्रमसमेत परिमार्जन हुनुपर्ने माग राखेका छन्।
एक साता अघिदेखि विद्यार्थीले कलेजको पठनपाठन नै ठप्प पारी आन्दोलन गर्दै आएका छन्। एमबिबिएस, बिडिएस, बिएससी नर्सिङलगायत अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।