काठमाडौं- पशुपति क्षेत्रमा आज पनि राष्ट्रिय गान बिना नै आरती गरिएको छ। पशुपतिमा आरतीअघि भदौ १३ बाट बज्दै आएको राष्ट्रिय गान सोमबार बाट बज्न छोडेको हो।
भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् प्रत्येक आरतीअघि राष्ट्रिय गान बजाउन निर्देशन दिएका थिए। त्यसपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थालिएको थियो।
योसँग मन्त्रीको निर्देशन पनि विवादित बनेको छ। सोमबार राष्ट्रिय गान नबजाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यसबारे प्रष्टीकरण समेत लिएका थिए। प्रष्टीकरणपछि मन्त्री भट्टराईले मंगलबारबाट नियमित रुपमा राष्ट्रिय गान बज्ने दाबी गरेका थिए ।
तर, मंगलबार पनि राष्ट्रिय गान नबजेपछि पशुपतिको आरतीअघिको राष्ट्रिय गान कोपभाजनमा परेको छ।
धार्मिक संस्कृतिसँग जोडिएको आरती अगाडि राष्ट्रिय गान बजाउन उचित नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमै आपत्ति जनाइसकेको छ।
यसका साथै विभिन्न क्षेत्रका अगुवाले पनि पशुपतिमा आरतीअघि राष्ट्रिय गान बजाउँदा राष्ट्रिय गानकै गरिमा घट्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।