काठमाडौं- पाल र पार्टी प्यालेसमा बस्दै आएका महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र नेपाल पुलिस क्बलका लागि अब अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ।
प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले तीनवटै भवनका आज (मंगलबार) शिलान्यास गरेसँगै भवन निमार्णले गति लिने भएको हो।
आइजी खनालले टेकुमा अपराध महाशाखाको, भद्रकालीस्थित काठमाडौं परिसर र भृकुटीमण्डपस्थित पुलिस क्लबको भवन शिलान्यास गरेका हुन्।
९ रोपनी अर्थात ४ हजार ५ सय ७८ दशमलव ६३ वर्गमिटर क्षेत्रफलमा टेकुमा अपराध महाशाखाको भवन बन्नेछ। उक्त भवनले ७ हजार ५ सय वर्गमिटर क्षेत्रफल ओगट्ने बताइएको छ। महाशाखाको भवन निर्माणकार्य २ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। भूकम्पले संरचनामा क्षति गरेपछि २०७२ सालदेखि महाशाखा पार्टी प्यालेस र पालमा बस्दै आएको छ।
त्यसैगरी, साल्ट ट्रेडिङले नेपाल आयल निगमलाई बेचेको जग्गामा बस्दै आएको काठमाडौं परिसरको भवन भने भद्रकालीस्थित स्वाथ्य मन्त्रालय पछाडिको जग्गामा बन्ने भएको छ। १५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा परिसरको भवन २ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको छ।
नेपाल पुलिस क्लबको भवन भने अहिलकै ठाउँमा २ वर्षभित्र अत्याधुनिक सुविधा सम्मपन्नसहितको बन्ने भएको छ।
तीन वटै भवनको छुट्टाछुट्टै शिलान्यास गर्दै आइजी खनालले भवनका लागि जग्गा उपलब्ध गराएकोमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, गृहसचिवलगायतलाई धन्यवाद समेत दिए। १ अर्ब ९६ करोडभन्दा बढी लागतमा उक्त जग्गा नेपाल सरकारले आफ्नो नाममा ल्याएर प्रहरीलाई निर्माणका लागि उपलब्ध गराएको थियो।
त्यस्तै, तोकिएकै समयमा भवन निर्माण सम्पन्न गरिसक्ने पनि आइजिपी खनालले प्रतिवद्धता जनाए। तीनवटै भवन २ वर्षभित्र निमार्ण गरिसक्ने लक्ष्य छ।
प्रहरीको भवन बनाउने क्रममा कुनै पनि अनियमितता सैह्य नहुने पनि आइजी खनालले बताए। आइजी खनालले भने, ‘नेपाल पुलिसको भवन बनाउने काममा कुनै पनि अनियमितता सैह्य हुँदैन।’
अनियमिता गरेको पाइए कानुनबमोजिम कारबाही गरिने उनले बताए। त्यस्तै, उनले गुणस्तरमा सम्झौता पनि नहुने स्पष्ट पारे। तोकिएको मापदण्डभन्दा थोरै पनि 'कम्प्रमाइज' नगरी भवन बनाउन उनले निर्देशन दिए।
भवन अत्याधुनिक सुविधा सम्पन्न बन्ने भन्दै आइजी खनालले भने, ‘सुन्दर भवनबाट सेवा दिन्छौं।’ भवनमा प्रहरीलाई सूचना दिन आउने व्यक्तिका लागि छुट्टै डेक्स, हेलिप्याडसहित नयाँ डिआइनको बन्ने भन्दै आइजी खनालले भने, 'विदेशी पर्यटक आउँदा पनि आहा! नेपाल प्रहरीको भवन यस्तो राम्रो रहेछ भन्ने खालको हुन्छ।’
नयाँ बन्ने अपराध महाशाखाको भवनको डिजाइनः
काठमाडौं प्रहरी परिसरको नयाँ बन्ने भवनको डिजाइनः
नेपाल पुलिस क्लबको नयाँ बन्ने भवनको डिजाइनः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।