राजविराज- नेपाल विद्युत प्राधिकरण, सिरहा वितरण केन्द्रका एक जना कर्मचारी ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले तृतीय तहका कर्मचारी छेदिलाई साह सुनारलाई पक्राउ गरेको हो। उनी विष्णुपुर गाउँपालिका–१, विष्णुपुर चोकस्थित शहिद गेट नजिकको उत्तम मिष्ठान भन्डारबाट रंगेहात पक्राउ परेका छन्।
‘करारको कर्मचारीमा भर्ना गरिदिन्छु’ भन्दै साहले सेवाग्राहीसँग रकम असुल गर्ने गरेको अख्तियारको आरोप छ। उनले पटक–पटक नगद तथा बैंक दाखिलासमेत गरी दुई जनासँग प्रतिव्यक्ति १ लाख ५० हजारका दरले ३ लाख लिइसकेको र फेरि एक जनासँग ३० हजार र अर्कासँग ५० हजार गरी ८० हजार रुपैयाँ घुस माग गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए।
घुुसवापतको ८० हजार रुपैयाँ रकमसहित साह पक्राउ परेका कोइरालाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।