काठमाडौं- परोपकारी काममा सक्रिय सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वर्ष मनाउने क्रममा अस्ट्रेलियामा पनि कार्यक्रम गरेको छ।
नेटवर्कको अस्ट्रेलिया शाखाले अस्ट्रेलियाको सिडनी, मेलवर्न र राजधानी क्यानबेरामा विशेष कार्यक्रमको आयोजना गर्दै २०औँ वार्षिकोत्सव मनाएको हो। साउथवेल्सका बहुसांस्कृतिक राज्यमन्त्री जोन सिदोतीको प्रमुख आतिथ्यमा अगस्ट १७ मा सिड्नीमा कार्यक्रम गरिएको थियो।
उक्त कार्यक्रममा हेल्प नेपालले धुलिखेलमा सञ्चालन गर्दै आएको बालिकाहरूको आश्रयस्थल बालगृहमा इ–लाइब्रेरीको व्यवस्थापनका लागि हेल्प नेपाल, अस्ट्रेलिया शाखाले ५ हजार डलर प्रदान गरेको थियो। सोही कार्यक्रममा दोलखामा निर्माणाधीन राजकुलेश्वर स्कुलका लागि १० देखि १५ हजार डलरसम्म प्रदान गरिने हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाका संयोजक हर्ष गौतमले जानकारी गराए।
१० करोड अक्षय कोष अभियानका अष्ट्रेलिया संयोजक दिला खरेलले हालसम्म उठेको हेल्प नेपालको ६ करोडको अक्षय कोषमा रकम वृद्धि गर्ने अभियानलाई तीव्रता दिँदै १० करोडको अक्षय कोष बनाउने दृढता व्यक्त गरेका थिए। उनले सबैसँग यस सामाजिक कार्यमा सहयोग गर्न आग्रह पनि गरे।
यसपटक अस्ट्रेलियामा आयोजित २०औं वार्षिकोत्सव कार्यक्रमले महिनाको एक डलर सहयोग गर्ने अभियानलाई अझै व्यापक बनाउने र हाल ६ करोड रुपैयाँ रहेको अक्षय कोषलाई १० करोड पुर्याउन विशेष कार्य गर्ने निष्कर्ष निकालेको छ।
२० वर्ष अघि सन् १९९९ मा स्थापित हेल्प नेपालले शिक्षा, स्वास्थ्य तथा दैवी विपद्का बखत सहयोग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।