काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले आफ्ना ७ प्राथमिकता सार्वजनिक गरेका छन्।
दक्ष, अनुशासित, मेहनती, सुजबुझ ढंगले काम गर्ने स्मार्ट ट्राफिक प्रहरी बनाउने एसएसपी ढकालको पहिलो प्राथमिकतामा उल्लेख छ। ‘समस्यालाई प्राथमिकता, समाधानमा तदारुकता’ भन्दै उनले आफ्नो दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन्।
तेस्रो प्राथमिकता ट्राफिक व्यवस्थापनमा प्रविधिमा जोडका बारेमा छ।
त्यस्तै ट्राफिकको व्यवहारमा विनम्रता र कानुन कार्यान्वयनमा कडाई, सरोकारवाला निकायसँग उपलब्धिपूर्ण सहकार्य, ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टीकरण, ट्राफिक नियमको पालना, आम नागरिकको चाहना गरी आफ्ना ७ प्राथमिकता एसएसपी ढकालले प्रस्तुत गरेका हुन्।
उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिकले चुस्त-दुरुस्त भएर काम गर्ने र कानुन कार्यान्वयनमा कडाई गर्ने प्रतिवद्धता एसएसपी ढकालले जनाए।
.jpg)
नियम उल्लङ्घन गर्ने चालकहरुमा सरकारी चालकहरु अग्रपंक्तिमा देखिएको भन्दै एसएसपी ढकालले सरकारी गाडीका चालकलाई पनि अनिवार्य प्रशिक्षण कक्षाको व्यवस्था गर्ने तयारी गरेको बताए। उनले भने, 'ट्राफिक नियम उल्लङ्घन गर्ने निजी गाडीमात्रै छैनन्। सरकारी गाडीले पनि नियम उल्लङ्घन गरेका छन्। अब हामी सरकारी गाडीका चालकलाई पनि अनिवार्य क्लास दिन्छौं।’
चोरीका १८ मोटरसाइकल धनीलाई हस्तान्तरण
उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा हराएका चोरीका १८ वटा मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। केही मोटरसाइकलहरु भने चोरी गरिसकेपछि चोरले चेसिस नम्बरसहितको पार्टपूर्जा परिवर्तन गरिएको पाइएको ट्राफिकले जनाएको छ।

त्यस्तै, चोरी गरिसकेपछि नम्बर प्लेटसमेत परिवर्तन गरेको पनि पाइएको छ। बा६२प २२८९ नम्बरको पल्सर मोटरसाइक्ल चोरी गरेर बा५४प ३२०४ नम्बर बनाएर चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ट्राफिक प्रहरी महाशाखाको भिक्टिम सर्पोट युनिट (भिएसयू)ले ३ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–७ फस्कुका २६ वर्षीय प्रदीप खड्गी, नागार्जुन–६, इचाडोलका २५ वर्षीय रोशन खड्का र चितवनको भरतपुर महानगरपालिका-२१, पटिहानी सुन्दरबस्ती घर भई काठमाडौं सितापाइला बस्ने २० वर्षीय अन्जन विक छन्।
उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।