भद्रपुर- पन्ध्र दिनअघि 'नेपाल भ्रमण वर्ष २०२०'लाई सफल बनाउने उद्देश्यले सुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौंसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी विरोधमा उत्रिएका छन्।
भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौं बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन्। उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम सुरु गरेका छन्।
नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक सहर काठमाडौंमा कुनै पनि महत्व नभएको सहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौताविपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन्।
प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारत मैत्री बस सञ्चालनका बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक सहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताए।
उनले भने, 'कोलकाता, गुहावटीदेखि काठमाडौंसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ। तर, सम्झौताविपरीत भारतका महत्वहीन सहरबाट काठमाडौंजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सिधै बस सेवा सञ्चालन गर्न पाइँदैन, तत्काल यसलाई स्थगित गरिनुपर्छ।'
उनले केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको बताए। पूर्व यातायात व्यवसायीसमेत रहेका मैनालीले नेपालमा धेरै यातायात व्यवसायी भए पनि भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस सेवाले राजस्वमा समेत प्रभाव पर्ने विचार राखे।
झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन प्रवर्द्धनमा सहयोग नपुग्ने बताउँदै पूर्वी नेपालमा असर पुग्ने जिकिर गरे।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सो बसको सीमा नाकामा सामान्य चेकजाँच गर्ने गरेको बताए। उनले भने, 'अध्यागमनले जस्तो उसका परिचय खुल्ने कागजात हेर्न मिल्दैन, शङ्का लागेमा सामान्य मानिसलाई जस्तै सामानको चेकजाँच गर्छौं।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।