डडेल्धुरा- डडेल्धुराका मुक्त हलियाहरुले सरकारसँग विभिन्न ४ बुँदे माग राखेका छन्। आइतबार ४ बुँदे मागसहितको ज्ञापनपत्र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई बुझाइएको छ।
जिल्ला हलिया मुक्ति समाज डडेल्धुराले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई मागसहितको ज्ञापनपत्र बुझाएको हो।
डडेल्धुरामा नेपाल सरकारबाट समिति गठन गरी छुटेका मुक्त हलियाहरुको अवस्था अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने, अध्ययन समितिको प्रतिवेदनका आधारमा स्थानीय तहको नेतृत्वमा मुक्त हलियाको लगत संकलन गर्न नेपाल सरकारबाट सो प्रक्रिया अघि बढाउन स्थानीय सरकारलाई लिखित सर्कुलर जारी गर्नुपर्ने उनीहरुको माग छ।
संघ सरकारले लगतमा नाम भएका हलिया परिवारलाई लगत कट्टा गर्न लागेको सन्दर्भमा हाल सम्पर्कमा आएका मुक्त हलियाहरुलाई एकपटकका लागि समय उपलब्ध गराई स्थानीय तहमार्फत परिचयपत्र वितरण गरि पुनर्स्थापना प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णयसहित लिखितरुपमा जानकारी गराउनुपर्ने माग समेत मुक्त हलियाहरुको छ।
आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा मुक्त हलियाहरुलाई प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक समावेशीकरण र सशक्तीकरणका कार्यक्रम कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने, विज्ञ समेतको सुझाव प्राप्त भई लामो समयदेखि छलफलका क्रममा रहेको एकीकृत बढुवा श्रम निषेध गर्न बनेको मस्यौदालाई पारित गरी प्रक्रिया अघि बढाउनुपर्नेलगायत माग सरकारसँग राखेको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीले जानकारी दिए।
सरकारले ४ बुँदे माग सम्बोधन नगरे आन्दोलन गर्ने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ। ‘हाम्रा मागप्रति राज्य गम्भीर नभएमा वा माग सम्बोधनका लागि कुनै पहल नभएमा हामी सम्पूर्ण हलियाहरु हाम्रा मागहरु सम्बोधनका लागि थप दबाब र आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा उत्रन बाध्य हुनेछौँ। तसर्थ यस्तो अवस्था आउन नदिन यसै ज्ञापनपत्र मार्फत मन्त्रालयको ध्यानार्कषण गराउँदछौं,' समाजका अध्यक्ष सार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।
२०६५ भदौ २१ गते नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। हलिया मुक्ति घोषणा भएको ११ पूरा भए पनि उनीरुको उचित पुनर्स्थापना हुन अझै सकेको छैन। सरकारले हलिया मुक्तिको घोषणा गरे पनि वास्तविक हलियाको अवस्था भने उस्तै छ। मुक्त भइसकेका हलियाको उचित पुनर्स्थापना हुन नसक्दा उनीहरु दयनीय जीवन चलाउन बाध्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।