भैरहवा- लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयले १० वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। विश्वविद्यालयले सन् २०२०-२०३० का लागि १० वर्षे दूरगामी कार्याेजना सार्वजनिक गरेको हो।
१० वर्षे कार्ययोजना जारी गर्दै त्यसको कार्यान्वयन गर्नका यसका लक्ष्य, रणनीति, परिकल्पना र नीतिसमेत सार्वजनिक गरिएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्रचार्यका अनुसार विश्वविद्यालयले योजनामा लिएका लक्ष्यहरुमा शान्ति तथा दिगो विकासका लागि बौद्ध दर्शन, ज्ञान, साहित्य, कला, संस्कृति, शिक्षा, विज्ञान एवं अन्य सान्दर्भिक विषय क्षेत्रको शिक्षण, अध्ययन तथा अनुसन्धानको उत्कृष्ट केन्द्रको रुपमा विकास गर्न लागिएको छ।
विश्वविद्यालयले अध्ययन अनुसन्धान एवम् शैक्षिक क्रियाकलापमा सहयोग जुटाउन, सहकार्य गर्न एवम् शैक्षिक आदानप्रदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र सञ्जालको अभिवृद्धि गर्ने लक्ष्य लिएको बज्राचार्यले उल्लेख गरे।
उनका अनुसार विश्वविद्यालयले शैक्षिक प्रणाली र समाजको बीचमा अन्तक्रियात्मक सम्पर्क एवं सम्बन्धलाई संस्थागत रुपमा विकास गर्दै शिक्षाको गुणस्तरीयता, सान्धर्भिकता र समसामयिक उपयोगितालाई अभिवृद्धि गर्ने, शान्ति, सद्भाव, मैत्री, करुणायुक्त दिगो विकासको लागि ज्ञान, सीपमा सम्पन्न उपयुक्त ग्राजुयटहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ।
बज्रचार्यले विश्वविद्यालयले चार प्रमुख रणनीतिहरु तय गरेको बताए। जसमा स्थापित बौद्ध दर्शन, ज्ञान एवं शैक्षिक प्रणाली (थेरवाद, महायान र बग्रयान) को संवर्द्धन एवं प्रवर्द्धन गर्दै संस्थागत विकास गरी नेपाललाई ती दर्शन र ज्ञानको उर्जामय केन्द्रको रुपमा स्थापना गर्ने, बौद्ध विद्वान र प्राज्ञहरुको प्रेरणा र सहयोगमा अध्ययन, अनुसन्धान, गोष्ठी, सभाका लागि उत्कृष्ट केन्द्रहरुको स्थापना गर्ने रहेका छन्।
यस्तै, बौद्ध दर्शन र शिक्षाको मुल प्रवाहसहित नेपाली समाजका उदाहरणीय पक्षहरु समेट्दै आर्थिक र समाजिक अवस्थितिसँग समय सान्दर्भिक एवं नव युवापिढीहरुको आकांक्षा अनुकूल शान्ति र समृद्धि केन्द्रित दिगो विकासको लागि उपयोगी नवप्रवर्तनात्मक शैक्षिक कार्यक्रमहरुको विकास एवम् सञ्चालन गर्ने रणनीति लिएको छ।
विश्वविद्यालयले बौद्ध समाज, संस्कृति एवम् परम्पराका उदाहरणीय पक्षहरु समेट्दै ज्ञानमा आधारित समाजको विकासका लागि विश्वविद्यालयल एवम् प्राज्ञिक वर्ग तथा समाजबीच अन्तक्रियात्मक सम्बन्ध एवम् सहकार्यको अभिवृद्धि गर्नेसमेत रणनीति कायम गरेको छ।
बज्रचार्यले विश्वविद्यालयले ७ वटा आयोजनाको परिकल्पना गरेको बताए। जसमा लुम्बिनीलाई बौद्ध अध्ययन अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने, बृहत्तर बौद्ध पुस्तकालयको विकास गर्ने, अनुसन्धानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, देवदहमा विश्वविद्यालयलको लागि १ सय बिघा सामुदायिक वनमा तपोवनको रुपमा विकास गर्ने र त्यस स्थानमा शैक्षिक कार्यक्रम लागू गरिनेछ।
उक्त तपोवनमा विश्वविद्यालयले कृषि तथा वन विषयमा अध्ययन, अध्यापन, अनुसन्धानका लागि प्रयोग गर्ने, 'डेभलपमेन्ट स्ट्डिज'को शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र पर्यावरणीय, वातावरण तथा प्रकृति संरक्षणसम्बन्धी विषय अध्ययन, अध्यापन, अनुसन्धान गर्ने योजना बनाएको छ।
यस्तै, बज्रयानसम्बन्धी अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने, हिमाली क्षेत्रलाई शान्ति एवम् प्रकृतिक संरक्षणसम्बन्धी अध्ययन, अनुसन्धानको थलो बनाउने र परम्परागत औषधि र स्वास्थ्य सम्बन्धी प्रणाली एवम् अभ्यासको संवर्द्धन, प्रवर्धन तथा विकासका लागि अध्ययन, अध्यापन र अनुसन्धान गर्दै जनसरोकारको स्वास्थ्य लाभका लागि बढी उपयोगी बनाउँदै लैजाने परिकल्पना गरेको छ।
विश्वविद्यालयलले दूरगामी योजना कार्यान्वयनका लागि उच्च शिक्षाको उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्न शैक्षिक, प्राज्ञिक उन्नयनमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन विभिन्न मुलुकका विश्वविध्यालयसँग आपसी समझदारी, सहयोग र सहकार्य गर्ने नीति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।