काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण सेवा पुन: सञ्चालनमा ल्याएको छ।
अस्पतालले गत बुधबार धादिङ गजुरीकी ६५ वर्षीया योगमाया भण्डारीको आँखाको नानी प्रत्यारोपण गरेर सेवा पुन: सञ्चालनमा ल्याएको हो। भदौ १ गते आँखा बिझाएर उपचारका लागि अस्पताल पुगेकी भण्डारीको त्यसको २/३ दिनमै आँखाको ज्योति गुमेको थियो।
'आँखा देखाउँदा संक्रमण भएको भनेर आँखामा राख्ने औषधि दिनुभएको थियो,' उनका छोरा शालिकराम भण्डारीले भने, 'घर पुगेको २/३ दिनमै आँखै देख्न छोड्नुभयो।’
त्यसपछि उनलाई फेरि अस्पताल ल्याउँदा चिकित्सकले आँखामा पिप जमेकोले नानी फेर्नुपर्ने बताएका थिए। कर्निया विशेषज्ञ डा पुनम श्रेष्ठका अनुसार तिलगंगा आँखा प्रतिष्ठानबाट नानी ल्याएर प्रत्यारोपण गरिएको हो।
‘संक्रमणका कारण घाउ भई आँखाको कालो भाग पातलिँदै जान्छ। जसले आँखा नै नदेखिने जोखिम रहन्छ। त्यसै कारण प्रत्यारोपण गर्नुपरेको हो,’ डा श्रेष्ठले भनिन्।
यसअघि अस्पतालले २०४१ सालमा श्रीलंकाबाट नानी ल्याएर प्रत्यारोपण सेवा सुरु गरेको थियो। तर विभिन्न कारणले सेवा सेवालाई निरन्तरता दिन नसकेपछि ०४७ सालमा सेवा बन्द भएको थियो।
अस्पतालका प्रमुख कार्यकारी अघिकृत दमनबहादुर घलेले नि:शुल्क आँखाको नानी प्रत्यारोपण सेवालाई निरन्तरता दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।