काठमाडौं- यातायात क्षेत्रमा कार्यरत मजदुरहरुले अनिवार्यरुपमा पोसाक लगाउनुपर्ने भएको छ।
अखिल नेपाल यातायात मजदुर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको 'यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण' विषयक अन्तर्क्रिया कार्यक्रममा यातायात मजदुरले पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए।
'परिचयपत्र र पोसाक लगाएसँगै यात्रुले यातायात मजदुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,' उनले भने। परिचयपत्र र पोसाक लगाएसँगै यातायात मजदुरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोसाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
'पोसाक र परिचयपत्रको सुरुवातसँगै यात्रुले कसलाई बस भाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्नेछ,' उनले भने।
काठमाडौं महानगरपालिका-१४ की अध्यक्ष शोभा सापकोटाले पोसाक र परिचयपत्रको सुरुवातसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने धारणा राखिन्।
मजदुर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।