जनकपुर- जनकपुरबाट एक लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका महोत्तरीको भंगहा नगरपालिका-८ का वडाध्यक्ष मोहम्मद मोरफिक आलमसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
वडाध्यक्ष आलम, वडा नं ८ कै वडा सदस्य कारी साह र उनका छोरा मुकेश साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
तीनैजना विरुद्ध १ लाख ६० हजार रुपैयाँ विगो कायम गरी 'भ्रष्टाचार निवारण ऐन २०५९' को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ 'घ' बमोजिम जरिवाना र सजाय माग दाबी सहित मुद्दा दायर गरेको आयोगले जनाएको छ।
भंगहा नगरपालिका–८ का वडाध्यक्ष आलम सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले जनकपुरबाट साउन २८ गते दिउँसो पक्राउ गरेको थियो। उनीहरु १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए।
आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी हरि घिमिरेका अनुसार जनकपुरको पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिइरहेको अवस्थामा वडा सदस्य साहका छोरा मुकेशलाई पक्राउ गरिएको थियो। सो लेनदेनमा संलग्न वडाध्यक्ष आलम र वडा सदस्य साहलाई महोत्तरीको भंगहा नगरपालिका–८ स्थित घरबाटै पक्राउ गरिएको थियो।
सडक ढलानको बील भुक्तानीका लागि वडाध्यक्ष आलम र वडा सदस्य कारी मिलेर समितिसँग घुस मागेका थिए। घुस लिन कारीले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।