सिन्धुपाल्चोक- नेपाललाई आगामी असोज १३ मा खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएको छ। प्रदेश ३ को सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री बिना मगरले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन्। उनले यस सम्बन्धी तयारी चलिरहेको बताइन्।
'नेपाल दक्षिण एसियामै पहिलाे खुल्ला दिसामुक्त राष्ट्र बन्दैछ। दक्षिण एसियाका अरु देशहरु पनि याे अभियानकाे क्रममा छन्,' उनले भनिन्, 'तर, नेपालकाे अभियान अरु देशकाे भन्दा पृथक छ। अरु देशमा याे अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन्। तर, नेपालमा सिङ्गाे देश र सम्पूर्ण नागरिक नै याे अभियानमा सामेल छन्।'
मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरुको माग सरकारले छिट्टै समाधान गर्ने स्पष्ट पारिन्। 'हामी नेपाली कामदार, स्थानीय भेन्डर र अन्य सराेकारवालाका मागप्रति गम्भीर छौं। तर, कानुनभन्दा बाहिर गएर हामी निर्णय गर्न नसक्ने परिस्थितिमा छौं,' उनले भनिन्, 'वैधानिक बाटाे खाेजेर समस्या समाधान गर्न हामी निरन्तर लागिरहेका छौं।'
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आज विशेष कार्यक्रम आयोजना गरी सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो।
जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीहरु सबैमा शौचालय निर्माण भई प्रयोगमा आएपछि सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताए।
सिन्धुपाल्चोकमा ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा स्थानीय तहहरु छन्। सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये ६८औं स्थानमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।