काठमाडौं- चिनियाँ राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने भएका छन्। यसलाई दुवै देशले पुष्टि गर्दै भ्रमणको घोषणा गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले नेपालका समकक्षी प्रदीप ज्ञवालीको निमन्त्रणामा यीले आइतबारदेखि नेपाल भ्रमण गर्न लागेका बताएका छन्। उनी सेप्टेम्बर १० मा बेइजिङ फर्किनेछन्। बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यीको भ्रमणको घोषणा गरेका हुन्।
यीको भ्रमणबारेमा नेपालको परराष्ट्र मन्त्रालयले पनि औपचारिक विज्ञप्ति निकालेको छ। मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा मन्त्री ज्ञवालीको निमन्त्रणामा चिनियाँ विदेश मन्त्री ३ दिने भ्रमणका लागि नेपाल आउन लागेको उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार सोमबार मन्त्री यीसँग मन्त्री ज्ञवालीले द्विपक्षीय वार्ता गर्नेछन् र भ्रमण टोलीको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्नेछन्।
केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउन लागका उनी वरिष्ठ चिनियाँ अधिकारी हुन्।
दुई दिने नेपाल भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री ज्ञवाली लगायतसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
उनको नेपाल भ्रमणलाई दशकौंदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा बुझिएको छ।
चिनियाँ राष्ट्रपति सी जिन पिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक भ्रमण लागि ११ अक्टोबरमा भारत जाँदैछन्। सन् २०१८ मा दुई नेताले चीनको वुहानमा दुई दिने अनौपचारिक भेटघाट गरेका थिए, जुन वुहान शिखर सम्मेलनका नाममा चर्चित छ।
वुहान शिखर सम्मेलनको दोस्रो संस्करणमा रुपमा सी र मोदी यसपालि भारतमा भेट्न लागेका हुन्। यसअघि भारतको वाराणसीमा उक्त सम्मेलन आयोजना गर्ने भनिए पनि सुरक्षा चुनौतीका कारण सो स्थानलाई रद्द गरिएको छ। अब उक्त सम्मेलन सम्भवतः तमिलनाडूको महावलीपुरम सहरमा आयोजना गरिनेछ।
सी भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किने बेला अक्टोबर १५ मा नेपाल आउने ठानिएको छ। गत १५ असारमा ६ दिने चीन भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीसँगको भेटमा पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चर्चा गरेका थिए। १८ असारमा दुई मन्त्रीहरुबीच भएको भेटमा उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने विषयमा सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।