काठमाडौं- मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस-१९ भाद्र आज देशैभर विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
नेरेसो केन्द्रीय कार्यालयमा रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको तस्बिरमा माल्र्यापण गरी सोसाइटीका अध्यक्ष संजीव थापाले दिवसको सुरुवात गरेका थिए।
'यस वर्षको मूल नारा 'माया' ले हामी रेडक्रस प्रेमीलाई एक बनाउन मद्दत गरिरहेको छ,' कार्यक्रम उद्धाटन गर्दै अध्यक्ष थापाले भने। महामन्त्री धाख्वाले दिवसको सान्दर्भिकताबारे बोल्दै नेपाल रेडक्रसले सबैको सहयोग पाइरहेको र समुदायको मायाले नै रेडक्रस अगाडि बढेको धारणा व्यक्त गरेका थिए।
रेडक्रसको अन्तर्राष्टिय महासंघका नेपाल प्रमुख जुजा किम, रेडक्रसको अन्तराष्टिय समिति आइसीआरसीका नेपाल सहयोग प्रमुख प्रमेश पौडेल, साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट क्यानेडियन रेडक्रसका नेपाल प्रमुख पिताम्बर अर्यालले नेपाल रेडक्रसले गरेका कामको प्रशंसा गर्दै अझ सबल र विश्वसनीय बनाउन सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
दिवसको अवसर पारेर रेडक्रस प्रति माया झल्काउने फोटो प्रतियोगिता र नेरेसो कर्मचारी कल्याण कोषको संयोजनमा फुटबल, म्यारथन, चेसलगायतका खेलकुद प्रतियोगिताका विजेताहरुलाई सोसाइटीका अध्यक्ष संजीव थापा र महामन्त्री देवरत्न धाख्वाले आजै पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए। ।
माया झल्काउने फोटोतर्फ धनकुटाका हरी राई, लोकप्रिय फोटो तर्फ रमा ढकाल, समूहगत फोटोतर्फ स्वयम्भू उपशाखा प्रेरणादायी फोटोतर्फ कमल बास्तोला र रचनात्मक फोटोतर्फ दिव्यराज पौडेल,पुरस्कृत भए। नेरेसोमा कार्यरत कर्मचारीका छोराछोरीहरु तर्फ कक्षा ८ र एसइई परिक्षामा सर्वोत्कृष्ट हुनेलाई पनि महामन्त्री धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए।
यसै अवसरमा सोसाइटीमा २५ वर्ष निरन्तर सेवा गरेका नौ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा उमेशप्रसाद ढकाल, सुवर्ण कुमारी सिग्देल, धर्मकला मिश्र, माधवप्रसाद गुनी, मानवहादुर सिंह, इश्वरी पन्त, दुर्गा वेलवासे, हुतराज भट्टराई र नारायण शाही छन्।
रेडक्रस दिवसकै अवसरमा केन्द्रीय कार्यालयमा ४३ जनाले रक्तदान गरेका थियो। देशभरका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरेका छन्।
२०२० भाद्र १९ गते स्थापना भएको नेरेसोको एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्याँउदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।