काठमाडौं- काठमाडौं-१४, कलंकीस्थित एक गेस्ट हाउसको तेस्रो तलाबाट तल फाल्नेमध्येका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कलंकीस्थित नारायणी गेस्ट हाउसमा सोमबार राति १०ः४० बजेको समयमा कोठामा खाना पुर्याउन गएका सोही गेस्ट हाउसमा कार्यरत विवेक सोनाम सुनारलाई उनीहरुले कोठाबाटै तल फालिदिएका थिए। कोठामा ५ जना बस्न आएका र खानाका सम्बन्धमा विवाद भएपछि उनीहरुले सोनामलाई तेस्रो तलामा रहेको कोठाबाटै तल फालिदिएका दिए।
सो घटनामा संलग्न ३ जनालाई सोही राति १०ः५० बजेको समयमा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा मकवानपुरको दशहरा गाउँपालिका-४ घर भई हाल काठमाडौं-१४, खड्का गाउँ बस्दै आएका १८ वर्षीय वाइबा लामा, गुल्मीको मालिका गाउँपालिका-८ घर भई हाल काठमाडौंको सानो भर्याङ बस्दै आएका वर्ष १७ का सविन अर्याल, रामेछापको ग्नछी मदौरे घर भई हाल काठमाडौंको नैकापमा बस्दै आएका १८ वर्षका निशान धमला छन्।
अन्य २ जना भने फरार भएका छन्। उनीहरुको खोजीकार्य जारी रहेको बोगटीले जनाए।
उता घाइते भएका पाल्पाको निस्दी गाउँपालिका घर भई पछिल्लो १८ महिनादेखि सोही गेस्टहाउसमा कार्यरत १९ वर्षीय सोनामलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो। त्यसपछि उनलाई थप उपचारका लागि सोही मध्यरातमा ग्रान्डी अस्पताल लगिएको थियो। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।