काठमाडौं– एक व्यक्तिले एउटा यस्तो चिठी लेखे, जसका कारण उनी प्रहरी हिरासत पुगेका छन्। प्रहरी हिरासत पुग्ने गरी लेखिएको चिठीमा के थियो त्यस्तो? प्रहरीले चिठी लेख्ने व्यक्तिलाई पक्राउ गरेपछि यसको रहस्य बाहिर आएको छ।
नागार्जुन नगरपालिका–९ आदर्शनगर टोल घर भएकी एकल महिला रञ्जु त्रिपाठीलाई भदौ १३ गते ११ बजेर १० मिनेटमा सोही घरमा भाडामा बस्ने व्यक्तिले उनलाई चिठी दिए। भाडामा बस्ने ती व्यक्तिलाई एक अपरिचित व्यक्तिले उक्त चिठी 'रञ्जुलाई दिनू' भनेर छाडेका थिए। सोही अनुसार भाडमा बस्ने ती व्यक्तिले उक्त चिठी रञ्जुलाई दिएका थिए।
अपरिचत व्यक्तिको चिठी पाएपछि रञ्जु झस्किइन्। जहाँ लेखिएको थियो, '२० लाख रुपैयाँ भदौ १७ गते १२ बजे बालाजुको पुलमा लिएर आउनू। प्रहरी र आफन्तलाई यसबारे कुनै जानकारी नगराउनू। प्रहरी र आफन्तलाई जानकारी दिएको खण्डमा तेरो छोरीको ज्यान जान्छ। घर समेत बमले उडाइदिन्छु।’
ज्यान मार्नेसम्मको धम्की भएको चिठीका बारेमा त्रिपाठीले महानगरीय प्रहरी वृत्त कालिमाटीलाई जानकारी गराइन्। चिठी लेख्ने व्यक्तिकै अनुसार २० लाख दिनुपर्ने दिन मंगलबार(आज) थियो।
मंगलबार वृत्त कालिमाटी र महानगरीय प्रहरी परिसर काठमाडौं टोली पत्रअनुसार २० लाख पुर्याउनु पर्ने ठाउँ बालाजु क्षेत्र खटिएको थियो। २० लाख रुपैयाँ लिन भनेर लोभिँदै बालाजु पुगेका चिठी लेख्ने व्यक्ति अन्ततः प्रहरीको फन्दामा परे। पक्राउ परेपछि धम्की दिने व्यक्तिको परिचय खुलेको छ। उनी धादिङको रोराङ गाउँपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २७ वर्षीय सन्तोष कडेँल हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।