काठमाडौं- देशको राजधानी भएको जिल्ला काठमाडौं भूकम्पपछिको पुनर्निर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ।
भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी सहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे।
काठमाडौँका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौं महानगरपालिकामै रहेको एकाइले जनाएको छ। काठमाडौंमा सुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४ सय ९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए। गुनासोबाट ६ हजार ६९ पीडित थपिएपछि हाल ४८ हजार ५ सय ६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिए।
काठमाडौंमा हालसम्म कूल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ७ सय ६८ परिवारसँग अनुदान सम्झौता भएको छ। अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिसकेका छन्। पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने १७ हजार ९ सय ७० मात्र छन्। घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने १४ हजार ८४ छन्।
यसैगरी प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ९ सय ७ भए पनि २ जनाले मात्र काम सुरु गरेको अभिलेख एकाइमा छ। जिल्लामा गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी घर पुनर्निर्माण भएका छन्। नगरपालिकामा २ हजार ९ सय ३९ लाभग्राही छन्। त्यसमध्ये ४६ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरी तीनै किस्ता लिइसकेका छन्।
सबैभन्दा कम घर पुनर्निर्माण भएको महानगरपालिकामा ७ हजार ५ सय ६१ छ। यसमध्ये १७ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका हुन्। पुर्जा नभएका जग्गा, मोही, स्ववासी, सुकुम्वासी, गुठी, सरकारी जग्गा, वन क्षेत्र, सार्वजनिक जग्गा, पर्ती जग्गामा घर बनाएर बसी क्षति भएकाका समस्याका कारण पनि पुनर्निर्माणमा ढिलाइ भएको हो।
भूकम्प अति प्रभावित सिन्धुपाल्चोक पुनर्निर्माण सबैभन्दा अघि देखिएको छ। सिन्धुपाल्चोकमा ६७ हजार ६ सय ४ घर पुनर्निर्माण सम्पन्न भएका प्राधिकरणले जनाएको छ। सो जिल्लामा ८८ हजार २ सय ७३ परिवार लाभग्राही सूचीमा परेका थिए। उपत्यकाका ललितपुर र भक्तपुर पनि अरु ११ जिल्लाको तुलनामा पुनर्निर्माणमा पछि छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।