डडेल्धुरा- बझाङको तल्कोट गाउँपालिका-५ घर भएका रमेशप्रसाद उपाध्याय र उनकी पत्नी शान्तिदेवी उपाध्याय राष्ट्रसेवक कर्मचारी हुन्। क्याम्पसमा पढ्दापढ्दै वैवाहिक सम्बन्धमा बाँधिएका उनीहरुको एक छोरी जन्मिएपछि रमेशले परिवार नियोजन गरे। उनीहरुले छोरा होस् या छोरी, एउटा मात्र सन्तान जन्माउने सहमति गरेका थिए। उनीहरुको छोरी जन्मिइन्। उनी बोल्न नसक्ने र कान नसुन्ने छिन्। छोरीलाई मात्र सन्तानको रुपमा स्वीकार गर्ने दम्पतीलाई एक समारोहमा सम्मान गरेपछि उपाध्याय दम्पती आफूहरुले सही निर्णय गरेको भन्दै खुसी भए।
जिल्ला समन्वय समितिको समन्वयमा प्रतिनिधिसभा सदस्य आशा विकको पहलमा जिल्लाका छोरीलाई मात्र सन्तानको रुपमा स्वीकार गर्ने दाम्पतीहरुलाई सम्मान गरेपछि उपाध्याय दम्पती जस्तै अन्य ८ जोडीहरु पनि खुसी भएका थिए।
आइतबार सदरमुकाम चैनपुरमा बझाङका ८ दम्पतीहरुलाई छोरीलाई मात्र सन्तानको रुपमा लिएको भन्दै सम्मान गरिएको हो। सम्मान भएका जोडीमा दुर्गाथली गाउँपालिकाका गिरी जप्रेल र डल्लीदेवी, छबिसपाथीभेरा गाउँपालिकाका दमन भण्डारी र प्रमिला, जयपृथ्वी नगरपालिकाका कलक ओली र धौलीदेवी, साइपाल गाउँपालिकाका बलभान विक र खिउटीदेवी, मष्टा गाउँपालिकाका राम सिगें आग्री र पदमकला र जयपृथ्वी नगरपालिका ऐनबहादुर सिंह र डम्मरा देवी लगायत छन्।
वडाध्यक्ष समेत रहेका कलक ओलीले लागातार ३ छोरी भइसकेपछि आफूले छोरीलाई पनि छोरा जस्तै मानेर छोराको आस नगरी परिवार नियोजन गरेको बताए। अरुले पनि एक/दुई छोरी पाएपछि परिवार नियोजन गरेर छोरीलाई छोरासरह मान्दै आएको सुनाए।
बझाङमा छोरा नभए अपुताली पर्यो भन्दै छोरीलाई सन्तानको रुपमा स्वीकार नगर्ने सोच अझै छ। त्यस्तो अन्धविश्वास र लैगिंक विभेद हटाउन उनीहरुलाई सम्मान गरिएको प्रतिनिधिसभा सदस्य विकले बताइन्। 'छोरा नभएर त सृष्टि चल्दैन तर छोरीमै सन्तुष्टि लिएर सन्तानको रहर पूरा हुनु महत्वपूर्ण कुरा हो। यसले छोरीहरुको पनि सम्मान बढ्छ भने लैंगिक विभेद पनि बिस्तारै हट्दै जान्छ,' उनले भनिन्, 'छोरी पनि छोरासरह नै हो भन्ने सोचको विकास गर्न यस कार्यले महत्वपूर्ण अर्थ राख्छ।'
हरितालिका तीजको अवसर पारेर लैंगिक असमानता हटाउन पनि यो कार्यक्रमले थप टेवा मिलेको स्थानीयवासी बताउँछन्। सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य विकसहित तत्कालीन संविधानसभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय प्रमुख खडक खड्का लगायतका नेताहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।