रोल्पा- माओवादी सशस्त्र युद्धताका 'तुफान' नामले परिचित थिए रोल्पा नगरपालिका-१ धारपानीका जुमबहादुर महरा। माओवादी युद्धताका मगरात जनसरकार अन्तर्गत जनशिक्षा विभागले सञ्चालन गरेको जनशिक्षालयको प्रधानाध्यापक रहेका ४५ वर्षे उनी शान्ति प्रक्रियापछि भने स्थानीय सरकारको वडा कार्यालय सहयोगी बनेका छन्।
विद्यालय पढ्दा तत्कालीन संयुक्त जनमोर्चाको समर्थक थिए उनी। २०५२ फागुन १ गते माओवादीले सशस्त्र युद्ध घोषणा गरे पनि लामो समयसम्म उनी घरमै बसिरहे। युद्धको प्रभावसँगै सुरक्षाकर्मीद्वारा सामान्य समर्थक शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने कार्यलाई तीव्रता दिन थाल्यो।
सदरमुकामदेखि १ घन्टा टाढाको दुरीमा बसोबास गर्ने उनले प्रहरीको गिरफ्तार सूचीमा आफ्नो नाम पनि रहेको थाहा पाए। प्रहरीको सम्भावित पक्राउबाट बच्नका लागि घरबाट निस्कने निष्कर्षमा पुगे। २०५६ भदौ १ गते घरबाट निस्किए। माओवादी कार्यकर्तासँग नियमित सम्पर्कमा रहेका उनलाई भूमिगतपछि कसको सम्पर्कमा जाने भन्ने समस्या नै भएन। उनी माओवादीको सम्पर्कमा गएसँगै युद्धमा पूर्णकालीन भएर लाग्ने निष्कर्षमा पुगे।
होचो शारीरिक कद र भारी शारीरिक बनावटका कारण उनलाई हिँडडुल गर्न निकै मुस्किल हुन्थ्यो। सुरक्षाका कारण दिनभर सेल्टरमा बस्ने र रातको समयमा हिँड्नु पर्ने नियम थियो। उनले पनि त्यसै गर्नुपर्ने भयो।
'रातमा हिँड्दा निकै मुस्किल भयो। लाइट बाल्न नपाइने, हिँड्दा कैयौं पटक लडेर चोटपटक पनि लाग्थ्यो,' उनले स्मरण गरे।
पूर्णकालीन माओवादी कार्यकर्तासँग हिँडेको देख्दा गाउँलेहरु उनलाई हेरेको हेर्यै हुन्थे। होचो कद भएकाले माओवादी नेतादेखि कार्यकर्ता र गाउँलेहरुले समेत विशेष रुपले माया गरेको जस्तो अनुभूति हुन्थ्यो उनलाई। उनीसँगै फोटो खिचाउनेको ताँती लाग्थ्यो।
अन्य माओवादी कार्यकर्तालाई भन्दा उनलाई बढी मात्रामा सुरक्षा चुनौती थियो। राम्रोसँग हिँडडुल गर्न नसक्ने तथा स्पष्ट चिनिने शारीरिक संरचनाका कारण उनलाई थप सुरक्षित वातारणमा राख्ने चुनौती पार्टीलाई पनि थियो। सोही अनुरुप उनलाई धेरै हिँडडुल नगर्ने गरी व्यवस्थापन गर्न पार्टीले जनशिक्षालयमा पढाउने जिम्मेवारी दियो।
माओवादीको अति प्रभावित गाउँहरुमा खोलिएका त्यस्ता जनवादी विद्यालय तथा जनशिक्षालयमा माओवादी कार्यकर्ता र युद्धमा मारिएका सहिदका सन्तानले पढ्ने गर्दथे। उनले एक वर्ष रोल्पाको तेवाङमा रहेको लिस्ने जनशिक्षालयमा पढाए। नेपाली सेना र माओवादी सेनाको सोही ठाउँमा भिडन्त भएपछि उनलाई रोल्पाको फगाममा सञ्चालित अर्को शिक्षालयमा स्थानान्तरण गरियो। उनले त्यहाँ करिब एक वर्ष पढाए। फगाममा रहेको सो शिक्षालयमा साँझ २ घन्टा पढाइ हुन्थ्यो।
जनशिक्षा विभागले रोल्पा जैमाकसलामा सञ्चालन गरेको नवचेतना जनशिक्षालयमा पढाउने गरी उनी २०५९ सालमा पुनः स्थानान्तरण गरिए। कक्षा ३ सम्म पढाइ हुने सो जनशिक्षालयमा सयभन्दा बढी विद्यार्थी थिए। उनी त्यहाँ प्रधानाध्यापकको रुपमा काम गर्ने गरी खटिए। उनीसँगै अन्य स्टाफ पनि थिए।
विद्यालयको प्रशासनिक र व्यवस्थापकीय कामका साथै पठनपाठन समेत उनको जिम्मेवारीमा पर्यो। माओवादीले सञ्चालन गरेको विद्यालय भएका कारण सरकारी पक्षले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने खतरा थियो। त्यस्तो बेला साना बालबालिकालाई कसरी सुरक्षित गर्ने भन्ने उनीसँगै चुनौती थियो। प्रहरीको उपस्थिति नभए पनि गाउँमा कहिलेकाहीँ सेना जाने गर्दथ्यो। सेना अपरेसनमा जाँदा पढाइ नै रोकेर उनी लगायतका अन्य शिक्षकहरु आत्मसुरक्षाका लागि सेल्टरतिर लाग्थे। उनले सो जनवादी विद्यालयमा २०६५ सालसम्म पढाए। शान्ति प्रक्रियाको करिब दुई वर्षसम्म उनले सोही विद्यालयमा अध्यापन गरे।
दिउँसो विद्यालयमा पढाउने र साँझ बिहान पार्टीको सांगठनिक काममा उनको समय बित्ने गर्थ्यो। युद्धकालीन अवस्थामा बनेका सबै संरचनाहरु सरकारले व्यवस्थापन गर्ने भनिए पनि अहिले जनवादी विद्यालयहरु लथालिंग भएकोमा उनलाई चित्त बुझेको छैन।
'आफूहरुले ज्यानको बाजी राखेर वैज्ञानिक शिक्षा दिने उद्देश्यले त्यस्ता विद्यालय सञ्चालन गरेको भए पनि अहिले अधिकांश विद्यालय लथालिंग भएकोमा दुःख लागेको छ,' महराले भने, 'दसवर्षे जनयुद्धले स्थापित गरेको सम्पत्तिहरुको संरक्षण हुनुपर्छ।'
माओवादी युद्धमा उनले झन्डै ६ वर्ष पूर्णकालीन कार्यकर्ताको रुपमा बिताए।
नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर साम्यवादी समाज निर्माण गर्ने सपनासहित माओवादी आन्दोलनमा लागेका उनी जस्ता लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन्। उनलाई भने विदेश जान शारीरिक अवस्थाले साथ नदिँदा यतिबेला वडा कार्यालयको कर्मचारी भएका छन्। स्थानीय तहको निर्वाचनपछि गठित स्थानीय सरकारले उनलाई रोल्पा नगरपालिका वडा नं ४ को वडा कार्यालयमा कर्मचारी बनेर सेवा गर्ने अवसर दिएको छ। कार्यालय गएर जनताको काममा सहयोग गर्ने उनको दैनिकी बनेको छ। आफूसँग जनयुद्धमा लामो समय सँगै बिताएका नवराज आचार्य उनको वडाध्यक्ष छन्। हिजो कमरेडी व्यवहार हुन्थ्यो यी दुईबीच। तर अहिले उनै आचार्यले हस्ताक्षर गरेको चिठ्ठी पत्र ओसारपसार गर्ने काम गर्छन्, महरा।
लामो भूमिगत राजनीतिक यात्रामा जनवादी विद्यालयको हेडमास्टर हुदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमा वडा कार्यालयको कर्मचारीको अनुभव सँगालिरहेछन् उनी। 'हिजो परिवर्तनका लागि घरपरिवार त्यागेर लागियो अब विकासका लागि योगदान गर्ने पालो आएकाले जनताको सेवामा लागेको छु,' महराले भने।
दसवर्ष लामो जनयुद्धको उपलब्धिले अहिले जनताको घरघरमा सिंहदरवार आएकाले यसको संस्थागत विकासमा लाग्नुपर्ने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।