जनकपुर- जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौठ चन्द पर्व मनाइँदैछ। यो पर्व भदौ शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ। मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन्।
चौठ चन्द पर्वका दिन व्रत बस्ने चलन छ। पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ।
पूजामा विशेष परिकार बनाउने चलन रहेको जनकपुरधाम उपमहानगरपालिका-५ की कल्पना झा बताउँछिन्। प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ। फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ।
चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ।
दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन्। मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ। ठाकुर आफैं ज्योतिष थिए। उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुवात गरेका हुन्।
मिथिलाको लोकपर्व चौठ चन्दको बेला गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहिआएको छ।
चौठ चन्द र हरितालिका तीजको अवसरमा जनकपुर उपमहानगरले सोमबारका लागि सार्वजनिक बिदाको घोषणा गरेको छ। जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार बिदा हुने जनाएका थिए। (तस्बिर- आरबी काप्री)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।