भैरहवा- हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर भैरहवाको एक संस्थाले अनाथ बालबालिकालाई दर र महिलालाई चुरापोते वितरण गरेको छ। फरक ढङ्गले तीज कार्यक्रम मनाएको श्रृजनशील हातहरु, रुपन्देहीले अनाथ बालबालिकासँग दर खाएर तथा सँगै नाचेर तीज कार्यक्रम गरेको छ।
२०७० सालमा स्थापना भएको उक्त संस्थाले अनाथ बालबालिका तथा विपन्न महिलासँग हरितालिका तीज मनाएको हो। संस्थाले भैरहवाको सिद्धार्थ बाल गृहमा रहेका बालिबालिकालाई दर खुवाउनुको साथै भैरहवा र यस आसपास क्षेत्रका विपन्न महिलाहरुलाई चुरा र पोते वितरण गरेको हो।
तीजका लागि छुट्टाईएको रकम जम्मा गरेर उक्त संस्थामा रहेका दिदीबहिनी तथा दाजुभाई विपन्न दिदीबहिनी चुरापोते वितरण गरेको सस्थाकी अध्यक्ष रमिता थापा मगरले जानकारी दिइन्।

तीज हुनेखानेको मात्र नभई सबैको साझा पर्वको रुपमा मनाउनुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम गरिएको अध्यक्ष थापाले जानकारी दिइन्।
'तीज पर्व विपन्न महिलाहरुको लागि पनि हो, तसर्थ उहाँहरुले पनि पर्व मनाउनुपर्छ भन्ने उद्धेश्यले संस्थाले तीजको पूर्व संध्यामा चूरापोते वितरण गरेको हो,' श्रृजनशील हातहरुका अध्यक्ष रमिता थापा मगरले भनिन्। बालगृहमा रहेका बालिबालिकाहरुलाई आफ्नो अभिभावक भएको अनुभुति होस भन्ने उद्देश्यले उनीहरुसँगै खाना खाएर नाँचगान गरेर तीज मनाएका हौं।
बालबालिकासँगै नाचे सांसद
कार्यक्रममा प्रदेश ५, प्रदेशसभा सांसदद्वय सन्तोष कुमार पाण्डेय र कल्पना पाण्डे पनि उपस्थित थिए। औपचारिक कार्यक्रममा सरिक उनीहरु कार्यक्रम पश्चात बालबालिकाका र महिलाहरुको साथमा केहि समेय नाचगानमा सहभागी भए। सांसदसँग नाच्न पाउँदा बालिबालिका तथा महिलाहरु खुसी देखिन्थे।

त्यस्तै सांसद कल्पना पाण्डेले महिलाहरुलाई चुरापोते समेत वितरण गरिन्। विपन्न महिला तथा बालबालिकासंगै बसेर तीज मनाउँदा पाउदा निकै आनन्दको अनुभति भएको सांसद पाण्डेले बताए।
बालगृहको लागि जग्गाको व्यवस्था गर्छु : सांसद पाण्डेय
प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले आगामी प्रदेशसभाको बैठकमा बालगृहको जग्गाको लागि आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। आफुले जीवनमा धेरै कुरा त्यागेर समाजमा शोषित, पीडित, गरीबीको रेखामुनी रहेका व्यक्तिहरुको सेवा गर्न राजनीतिमा आएको उनले बताए।

सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङले भाडाको घरमा बालगृह सञ्चालन हुँदा समस्या परेको बताएकी थिएन्। उनले बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्ने सहयोगी हातहरुको अभाव नभए पनि भाडाको घरमा सञ्चालन हुँदा समस्या भएको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।