काठमाडौं- मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फ्रेन्स आयोजना हुने भएको छ। भदौं २६देखि २८ गतेसम्म कन्फ्रेन्स नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।
चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम तीन दिने कन्फ्रेन्समा समेटिने आयोजक टिमले जनाएको छ।
त्यस अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल गर्नेछन्।
सो अवसरमा वरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने छ।
आम मानिसलाई आफ्नो समाज बुझाउन र सौन्दर्य चेतना बढाउन कला साहित्यका अन्य विधा सरह चलचित्रको पनि महत्व बुझाउन यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास लिएको कन्फ्रेन्स संयोजक अनुप सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।