काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरूलाई कार्यालय समयमा मोबाइल फोनमा संवाद नगर्न सचेत गराएका छन्। मन्त्री भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिएका छन्।
‘त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरूको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भट्टराईले कुनै पनि दाग लागेका कर्मचारीलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारेका छन्।
कार्यालय समयमा निदाउने र फेसबुक चलाएर बस्नेलाई कारबाही गर्न पनि उनले विमानस्थलका नेतृत्वलाई निर्देशन दिए। 'विमानस्थलका अनुशासनहीन कर्मचारीलाई काराबाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेरा थप गर्ने योजना छ। विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढी अनुशासित हुनुपर्छ,' मन्त्री भट्टराईले भने।
मन्त्री भट्टराईले सेवाग्राहीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरूको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि उनले स्पष्ट पारे। ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरेका छन्। प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।