लोकन्थलीमा गत भदौ ३ मा गएको पहिरो।
काठमाडौं- मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीमा आज बिहान पुनः पहिरो गएको छ। पहिरोमा सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेका छन्।
मध्यपुरथिमि-१, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत भदौ ३ मा राति पहिरो गएपछि रोकथामका प्रयास भए पनि त्यस स्थानमा पुनः पहिरो गएको हो।
पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा भदौ ३ मा पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँको यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो। पहिरो दुईवटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरिएको छ।
खानेपानी समस्या समाधान गर्न सरकारको १ करोड ३२ लाख रुपैयाँको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा ५ लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।
३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनः पहिरो गएको उनले जानकारी दिए। यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उनले तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए।
यसअघि पहिरो गएको ठाउँमा रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन सुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।