जनकपुर- चमार(दलित) समुदायले गढीमाई मेलाको सिनो बहिष्कार गर्ने निर्णय गरेका छन्।
बाराको बरियारपुरमा पाँच वर्षमा एक पटक आयोजना हुने प्रसिद्ध गढीमाई मेलामा बली चढाइने राँगा र पाडाको सिनो चमार (दलित) समुदायले बहिष्कार गर्ने भएका हुन्।
बलीमा चढाइएका राँगा/पाडाको मासु, दलित/चमार जातिले परापूर्वकालदेखि प्रसाद भन्दै खाने परम्परा रहेको छ। तर यसपाली भने बली चढाइने राँगा/पाडाको सिनो बहिष्कार गर्ने भनी चमार समुदायले सामूहिक रुपमै घोषणा गरेका हुन्।
महागढीमाई नगरपालिकास्थित बरियारमा रहेको गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्ने गर्छ। यस वर्ष मंसिरमा मेला लाग्दैछ। यस मेलामा हजारौंको संख्यामा राँगा र पाडाको बली दिने गरिन्छ। बली चढाएका राँगा र पाडाको मासु व्यवस्थापन गर्न मेला समितिले ठेक्का लगाउने गर्दछ।
ठेकेदारले बली चढाइएको २४ घण्टाभित्र ओसारेर मासु उद्योगमा लाने गरेका छन्। त्यसपछि बाँकी रहने मासु चमार समुदायका व्यक्तिले घरमा लगेर खाने गर्छन्।
तर यसपाली परवानीपुर गाँउपालिकाको चैनपुरमा आज भेला भएका बारा र पर्साका चमार जातिका अगुवाले सिनो नखाने निर्णय गरेको जानकारी गराएका छन्।
उनीहरुले सिनो बहिष्कारका लागि बारा र पर्सामा अभियान पनि घोषणा गरेका छन्। यसका लागि उनीहरूले दशरथ चमार रामको अध्यक्षतामा सिनो बहिष्कार अभियान समिति पनि गठन गरेका छन्।
सिनो बहिष्कार अभियानका सचिव राजनारायण चमार रामले भने, 'समितिले बारा र पर्साका हरेक चमार बस्तीमा पुगेर सिनो बहिष्कारका लागि अपिल गरेका छौं।'
अभियानका अध्यक्ष दशरथ रामले चमार जातिको आत्मसम्मानका लागि गढीमाइ मेलाको सिनो बहिष्कार गर्ने निर्णय गरिएको बताए।
सिनो खाँदा रोग पनि लाग्न सक्ने र चमार जातिलाई हेयको दृष्टिकोणबाट हेरिने भएकाले यो अभियान चलाउन लागिएको भेलामा सहभागीहरुले बताएका छन्।
यसअघि गढीमाई मेलामा पनि सिनो बहिष्कार अभियान चलाउँदै आएको जानकारी दिँदै अभियानका सचिव राजनारायण रामले भने, ‘२०६६ साल र २०७१ सालको मेलामा पनि हामीले सिनो बहिष्कार अभियान चलाएका थियौं, त्यसबेला मेला समितिले चमार जातिलाई भड्काउने काम गर्यो सोचेजति सफल हुन सकेनौं।' यसपटक जोडतोडसाथ अभियान चलाएर वहिष्कार अभियान पूर्ण सफल बनाउने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।