प्युठान- जिल्लाको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर ओलीले आफ्नो पदको दुरुपयोग गर्दै हाजिरी पुस्तिकामा केरमेट गरी भत्ता बुझेका छन्।
आर्थिक वर्ष २०७५/७६ को पुस ४ र ६ गतेको हाजिरी केरमेट गरी कार्यालयबाट उनले ७ हजार २ सय रुपैयाँ भत्ता भुक्तानी लिएका हुन्। हाजिरी पुस्तिका या बिलमा केरमेट गर्न नपाइने नीतिगत व्यवस्था भए पनि ओलीले त्यस्को बेवास्ता गर्दै हाजिरी पुस्तिकामा टिपेक्स प्रयोग गरेको पाइएको छ।

अधिकृत ओलीले भने आफू फिल्डमा गएको तर त्यसै दिन भूलवश हाजिर गर्न पुगेको प्रतिक्रिया दिए। ’यो त्यति ठूलो कुरा होइन,' उनले भने, ’भूलवश हाजिरी केरमेट भएको हो।’
गाउँपालिकाले कार्यालय सञ्चालनका लागि भाडामा लिइएको कोठा अधिकृत ओलीले आफ्नो निवासको रुपमा प्रयोग गर्दै आएका छन्। यसअघि जुनियर कर्मचारीलाई निमित्त दिएर सिनियर कर्मचारीको अपमान गरेको भन्दै उनको कर्मचारी वृत्तभित्रै आलोचनसमेत भएको थियो। सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै उनले गाउँपालिकाका परिचरलाई आफ्नो भान्सेको रुपमा प्रयोग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।