सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गौहत्या गर्नेलाई कारबाहीको माग राख्दै शनिबार प्रदर्शन गरिएको छ।
दर्जनभन्दा बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिनको माग गदै प्रदर्शन गरिएको हो। बिहीबार राती नेपालगञ्जबाट दैलेखको पठाउनका लागि ल्याइएका गाई वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिकै दुई दर्जन बढी गाईलाई भीरबाट खसाएर मारिएको प्रति घोर भर्त्सना गर्दै दोषीलाई कारबाही माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको हो।
सम्बन्धित निकायको ध्यान जाओस् भनेर प्रदर्शन गरिएको स्थानीय अगुवा भुवन ज्ञवालीले बताए। घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। मंगलगढी चौकबाट निकालिएको र्याली वीरेन्द्रचौकमा पुगेर सभामा परिणत भएको थियो। सभामा बोल्ने अधिकांश अगुवाले रातारात नेपालगञ्जका गाइगोरु सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गरेका छन्।
बिहीबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भीरबाट १६ वटा गाईगोरु खसालेर मारिएको थियो। १० वटा गम्भीर घाइते र १०० भन्दा धेरै गाईगोरु कटकुवामा बेवारिसे समेत भेटिएका थिए।

नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर २९१ वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो। ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको प्रहरीले बताएको छ।
वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत पौडेललेका अनुसार नगरभित्रका कटकुवा, ब्यूरेनी र सुब्बाकुनासहित तीन ठाउँमा ३० वटा गाई मृत भेटिएका छन्।
एक सय गाई नेपालगञ्ज फिर्ता
वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएका मध्ये १०० वटा गाई नेपालगञ्ज फिर्ता पठाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार १ सय गाई शुक्रबार साँझ नै नेपालगञ्ज फिर्ता पठाइएको हो।
बाँकी गाई पनि पठाउने तयारी भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए। नियन्त्रणमा लिइएका पाँच वटा ट्रक र चालकलाई भने जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको उनले बताए।
‘उनीहरूको बयान लिएपछि अरु कुरा खुल्न सक्ने छ, हामी अनुसन्धानमै छौं,’ डिआइजी जोशीले भने, घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भएकोले निष्पक्ष छानबिन गनमा हामी लागिरहेका छौं।
नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार दैलेखका लागि ल्याइएका गाईहरू नगर प्रहरीको नेतृत्वमा ल्याइएको थियो।
नगर प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा ल्याइएका गाईगोरु बीच बाटोमा मरेपछि बाटोमै फालिएको हुन सक्ने स्थानीयको आशंका छ।
यता श्रीस्थान मन्दिर व्यवस्थापन समितिले प्रेस विज्ञप्ति मार्फत भनेको छ, 'पवित्र पञ्चकोशी ज्वाला क्षेत्र अन्तर्गत पर्ने श्रीस्थान जस्तो पवित्र क्षेत्रको नामलाई जोडेर गौमाताको ओसारपसार र हत्या भएको घटना प्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थान क्षेत्रमा पठाइएको भनिए तापनि यहाँको भैरवी गाउँपालिका र मन्दिर व्यवस्थापन समितिले यो बारेमा कुनै जानकारी नभएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।