काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरंजीबि नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती थपेको भन्दै संवेदनशील हुन सञ्चार क्षेत्रलाई आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०औं वार्षिक साधारणसभा एवं अधिवेशनलाई शनिबार सम्बोधन गर्दे गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम सिर्जना गराउने काम भइरहेको बताए। सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा सञ्चार क्षेत्रको सही भूमिका नै छायामा पर्ने भन्दै उनले त्यसतर्फ सबै सञ्चारकर्मी र सञ्चारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।
समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। सामाजिक सरोकार तथा हित हुने र सरकारको नीतिमा परिवर्तन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले नेपाली सञ्चार जगत् अझै पनि अत्याधुनिक सूचना प्रविधिसँग प्रतिस्पर्धी बन्न नसकेको टिप्पणी गरे।
कार्यक्रममा सेजनका पूर्व अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिलाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भूमिका भने अपेक्षित बलियो हुन नसकेको उनको भनाइ थियो।
अधिवेशनले आगामी २ वर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।