राजविराज- त्रियुगा नदी नियन्त्रण आयोजना अन्तर्गत गत वर्ष (आव ०७५/०७६) सञ्चालित योजनामा अनियमिता र निर्माण कार्यमा पनि हेलेक्र्याइँ गरेको पाइएको छ।
नयाँ बाँध निर्माण भएकै स्थानमा बाढीले क्षति गरेपछि अनियमितताको खुलासा हुन थालेको छ भने स्थानीयले पनि उपभोक्ता समितिको आलोचना सुरु गरेका छन्। खरिद गुरु योजना पास भइनसकेकाले गत वर्ष त्रियुगा नदी नियन्त्रणको काम उपभोक्ता समिति मार्फत गराइएको थियो।
उदयपुरका ३ तथा सप्तरीको १ नगरपालिका गरी कुल २१ वटा उपभोक्ता समितिले नदी नियन्त्रणको काम गरेका थिए। उदयपुरको त्रियुगा र चौदण्डिगढी नगरपालिकामा १७, वेलका नगरपालिकामा ४ तथा सप्तरीको सप्तकोसी नगरपालिकामा ४ वटा उपभोक्ता समिति गठन गरी निर्माणको काम सम्पन्न गरिएको थियो।
६ अर्ब ८४ करोडको लागत अनुमान गरिएको नदी नियन्त्रण आयोजनाका लागि गत वर्ष कुल १० करोड रुपैयाँ प्राप्त भएको थियो। जसमध्ये सबै स्थानीय तहमा गरी ६ दशमलब १० किलोमिटर तटबन्ध, ५ दशमलब ६४ किलोमिटर रिभेटमेण्ट तथा लन्चिङ र ३ वटा स्टड निर्माण गरिएको कार्यालयले जनाएको छ।
तटबन्ध निर्माण गरिएका कारण नदी आसपासको ५ हेक्टर जग्गा उकास भएको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ। नदी नियन्त्रण आयोजनाको छुट्टै कार्यालय नभएकाले खाँडो नदी नियन्त्रण आयोजना मार्फत् नै काम सञ्चालनमा छ।
यसरी भयो अनियमितता
आयोजना अन्तर्गत गत वर्ष उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा १ हजार ७ सय मिटर तथा चौदण्डीगढी नगरपालिकामा २ किलोमिटर माटो भर्ने र ढुङ्गा जालीको काम गरीएको छ। दुवै नगरपालिमा करिब २/२ करोडको काम भएको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ।
यसैगरी, वेलका नगरपालिकामा ४ वटा उपभोक्ता समिति मार्फत ८ सय मिटर बाँध र पुरन्दहमा ३ वटा स्टड (स्पर) बनाइएको छ। सप्तरीको सप्तकोसी नगरपालिकामा ४ वटा उपभोक्ता समिति मार्फत् डेढ किलोमिटर बाँध निर्माण गरिएको छ। पुरन्दहमा करिब २ करोड र सप्तकोशीमा करिव अढाइ करोडको काम भएको कार्यालयका इन्जिनियरहरूले जानकारी दिए।
बजेट प्राप्त भएपनि समयमा खरिद गुरुयोजना पास नहँदा आर्थिक वर्षको अन्तिम समयमा काम गर्नु परेकाले केहि समस्याहरू देखिएको उनीहरू बताउँछन्। समितिले बैसाखदेखि मात्रै काम सुरु गरेकाले समग्रमा काम राम्रो भएको उनीहरूको भनाइ छ।
यता, असार २८ गते आएको बाढीले चौदण्डिगढी नगरपालिका–५ को सिवाइ र सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीमा बनाएको बाँध भत्काएको छ। सप्तकोशी नगरपालिका–१ स्थित फत्तेपुरमा निर्माण गरिएको बाँध पनि बाढीले कटान गरेको थियो। सोही समयमा उदयपुरतर्फको बाँध भत्किएका कारण फत्तेपुरको बाँध जोगिएको स्थानीय धर्म बहादुर खत्रीले बताए।
.jpg)
समिति मार्फत भएका काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको र तारजाली, ढुङ्गा र माटोको परिमाण पनि लगत स्टिमेटभन्दा घटाइएकाले बाँध कमजोर भएको उनको बुझाइ छ। ‘बाहिरबाट राम्रो देखिएपनि पिँधबाट माटो तानेर बाँधलाई कमजोर पारिएको छ। कमसल सामग्री तथा तारजाली र ढुङ्गाको प्रयोग लगत स्टिमेट भन्दा घटाइएको छ,’ खत्रीले भने, ‘बाँध निर्माण जस्तो गम्भीर विषयलाई पैसासँग जोडेर हेरियो। यो प्रवृत्तिले खतरा अझै बढायो।’
सप्तकोशी नगरपालिका–३ स्थित सखुवनीमा निर्माण भएको बाँध कमजोर भएकैले भत्किएको वडा अध्यक्ष देवकान्त चौधरीले स्वीकारे। सखुवनीमा निर्माण भएको ६ सय ४५ मिटर मध्ये करिव २ सय मिटर बाँध बाढीले भत्काएको छ। ‘काम गर्दै जाँदा आवश्यक सामग्री पाइएन, पानी पर्न थालेपछि ढुवानीमा पनि समस्या भयो,’ उनले भने, ‘जसो–तसो काम त सहियो, तर सोचेजस्तो बाँध निर्माण भएन।’
बाँधको करिब २ सय मिटरमा स्लोपिङ्गमा तारजाली नै नलागेको र ५० सेन्टिरमिटर माटो भनुपर्ने काम पनि सन्तोषजनक नभएकाले बाँध भत्किएको उनको बुझाइ छ। ‘लन्चिङ्गमा सबैतिर जाली हालेपनि स्लोपिङ्गको केही भागमा जाली थिएन,’ उनले थपे, ‘ढुवानीमा समस्या भएकाले माटो पनि कतै १०÷१५ सेन्टिमिटर र कतै २०÷२५ सेन्टिरमिटर मात्रै थियो, स्टिमेट अनुसार भएन।’
उक्त बाँध भत्किएर सखुवनीका २ सय ५० घर डुवानमा परेका थिए भने करिब २५÷३० परिवार लामो समयसम्म विद्यालयमा आश्रय लिएर बसेका थिए।
समिति निर्माणमै खेलाँची, आपसमै विवाद, बाँध भत्किएर गाउँ डुबान
सप्तकोसी नगरपालिका–६, बोचहीमा समिति निर्माणमै खेलाँची गरेको पाइएको छ। समितिमा को बस्ने भन्ने विवादले बाँध निर्माणको काम नै प्रभावित भएको स्थानीय सुशीला चौधरीले बताइन्। बाढीले वडा नंं ६ र ७ मा दुई ठाउँ बाँध भत्काएको थियो। करिब १ सय ५० घर डुबानमा परेको र ८ घर भत्किएका थिए।
आयोजनाले बाँध निर्माणका लागि उपभोक्ता समिति गठन गरी सिफारिस गर्न वडा कार्यालयलाई पत्राचार गरेको थियो।
वडा कार्यालयले देवकान्त चौधरीको नाममा समिति सिफारिस गरेर पठाएपनि गाउँकै केही व्यक्तिले समिति गठन प्रक्रियामा विवाद गरेको मेयर उत्तमकुमार गौतमले बताए।
सोही विवादका कारण बाँध निर्माण हुन नसकेको र बाँध भत्किएर बाढी गाउँ पसेको मेयर शर्माले बताए।
खाँडो नदी नियन्त्रण आयोजनाका तत्कालीन प्रमुख विष्णुदेव यादवले पनि समिति निर्माणमै विवाद भएपछि बोचहीमा काम हुन नसकेको बताए। ‘आयोजना कार्यालयमै आएर विवाद गरेपछि काम गराउन सक्ने अवस्था देखिएन,’ उनले भने, ‘त्यसैले हामीले त्यो बजेट अन्यत्र सारेर काम गर्यौ।’
यस वर्ष उक्त स्थानमा बाँध निर्माण हुन नसके थप समस्या आउन सक्ने यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।