काठमाडौं- धरहरा पुनर्निर्माणको काम सुरु गरिएको भए पनि स्थानीयबासीको माग सम्बोधन नभएका कारण समस्या देखिएको छ।
धरहरा पुनर्निर्माणको काम सुरु गर्नुपूर्व स्थानीयबासीसँग छलफल नगरेका कारण अहिले दैनिकजसो निर्माण कम्पनीका प्रतिनिधि र स्थानीबासीबीच भनाभन तथा विवादको अवस्था देखिने गरेको छ।
शुक्रबार पनि धरहरा पुननिर्माण स्थलमा यस्तै दृश्य देखियो। ट्रान्सपरेन्सी इन्टरनेसन नेपालको अवलोकन टोलीलाई स्थानीयले अवलोकन गर्नबाटै रोक्ने प्रयास गरे। राष्ट्रिय पुननिर्माण प्राधिकरणका पदाधिकारी, निर्माण कम्पनी, कन्सल्टेन्ट, प्राविधिक, स्थानीय जनप्रतिनिधि र पत्रकारहरु सम्मिलित टोलीलाई स्थानीयले अवलोकन गर्नबाट रोक्ने प्रयास गरेका हुन्।
सो क्रममा केही बेर भनाभन र धकेलाधकेलको अवस्थासमेत हुन पुग्यो।
काठमाडौं महानगरपालिका-२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा निर्माणसँगै स्थानीयको सामाजिक, आर्थिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्नुपर्ने बताए। उनले स्थानीयको भावनासँग गाँसिएका कुराहरुमा विचार नपुर्याउँदा समस्या सृजना भएको उल्लेख गरे।
उनले स्थानीय रुपमा वर्षौंदेखि कायम सांस्कृतिक मार्गहरुको संरक्षण गरिनुपर्ने र धरहरा हेर्नकै लागि पैसा तिर्नुपर्ने अवस्था आउन नहुनेतर्फ प्राधिकरणको ध्यानाकर्षण गराए। स्थानीयको ऐतिहासिक महत्वको विषय हेर्न पनि टिकट काट्नुपर्ने व्यवस्था गरी धरहरालाई व्यापारीकरण गर्ने हो भने त्यसको विरोध गर्दै आफ्नै वडाले धरहरा बनाउने चेतावनी दिए।
स्थानीय राजेश डंगोलले सर्वाधिक चासो र महत्वको विषयको धरहरा पुननिर्माणबारे सरकारले स्थानीयबासीसँग छलफल र समन्वय नगरेको गुनासो गरे।
संयुक्त अवलोकनपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका वरिष्ठ इन्जिनियर ध्रुवप्रसाद पौडेलले धरहराको भित्री संरचना आधुनिक बने पनि बाहिरी संरचना पुरानै स्वरुपमा निर्माण गरिने स्पष्ट पारे। उनले अध्ययन अनुसन्धानका लागि पुरानो संरचनालाई पनि सुरक्षित राखिने बताए।
उनले निर्माणका क्रममा आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधिहरुसँग पनि छलफल गरिएको दाबी गरे।
भ्रष्टाचार अनुगमनमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले स्थानीयको माग सम्बोधन गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी वरिष्ठ अधिकृत बबिता शर्माले स्थानीयबासीमा सामाजिक, सांस्कृतिक रुपमा रहेको विमति प्राधिकरणले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिइन्।
धरहरालाई व्यापारीकरण गर्न खोजिएको भन्दै सर्वत्र विरोध भएपछि निर्माणको सम्पूर्ण जिम्मा संघीय सरकारले प्राधिकरणको नेतृत्वमा निर्माण प्रक्रिया सुरु गराएको थियो। प्राधिकरणले २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि जनाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार नै रानीपोखरी निर्माण कार्यको पनि अवलोकन गरेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।