काठमाडौं– काठमाडौं उपत्यकास्थित जोरपाटी, सुन्दरीजल, नारायणटारपुल, आरुबारी क्षेत्रबाट गोकर्णेश्वरतर्फ जाने तथा आउने सबै प्रकारका सवारी साधनलाई आज डाइभर्सन गरिएको छ।
कुशेऔंशीको अवसरमा गोकर्णेश्वर मन्दिरमा लागेको मेलाका कारण सवारीसाधनलाई डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
जोरपाटीबाट गोकर्णेश्वर हुँदै सुन्दरीजलतर्फ जाने ठूला सवारीसाधनलाई जोरपाटी चोक र गोकर्णेश्वरको माइक्रो पार्कबाटै डाइभर्सन गरिएको छ। साना सवारीसाधनलाई भगवतीस्थानसम्म जान दिइएको छ भने फर्कंदा नारायणटारबाट आउने व्यवस्था मिलाइएको छ।
मकलबारीको ढलाने पुल, जगडोल भगवतीस्थानबाट पनि सवारीसाधनलाई डाइभर्सन गरिएको छ। बिपी चोकबाट गोकर्णेश्वरतर्फ आउने सवारीसाधनलाई पनि माइती नेपाल मोडबाट डाइभर्सन गरिएको छ।
सुन्दरीजल–रत्नपार्क सञ्चालन हुने सार्वजनिक सवारीसाधन भने आज चलेका छैनन्।
सुन्दरीजलबाट जोरपाटी आउने साना सवारीसाधनलाई भुमेस्थान, थलीचौर हुँदै सञ्चालनमा ल्याइएको छ भने अत्यावश्यक सेवाका सवारीसाधनलाई पनि बिपी चोकबाट डाँछी हुँदै नारायणटार निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ। मेलामा सवारी साधन लिएर जानेहरुका लागि भने माकलबारीको कोरिडोर, भगवतीस्थान र जगडोलको सहिदपार्कमा पार्किङको व्यवस्था मिलाइएको छ।
मेलामा जाने सवारीसाधन तथा यात्रु संख्या अधिक रहेका कारण चाबहिल, गोपीकृष्ण, चुच्चेपाटी, टुसाल चोक, बौद्ध गेट, जोरपाटी, नारायणटार पुल, आरुबारी, जगडोल चोक हुँदै चल्ने सवारीसाधन चापमा चलिरहेका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।