प्रतीकात्मक तस्बिर
काठमाडौं- सिरहाबाट अपहरणमा परेका एक बालकको तीन दिनपछि प्रहरीले उद्धार गरेको छ।
सिरहाको बन्दीपुरका ५ वर्षीय यादव थरका बालक गत मंगलबार अपहरणमा परेका थिए। उनलाई दिउँसो ३ बजे अपहरणकारीले अपहरण गरेर लगेका थिए।
बालक हराएपछि अनुसन्धानमा जुटेको प्रहरीले बिहीबार राति धुनषाबाट बालकको सकशुल उद्धार गर्नुका साथै एक अपहरणकारीलाई पक्राउ गरेको छ। सिरहा प्रहरी स्रोतले यसबारे नेपाल लाइभसँग कुरा गर्दै भन्यो, ‘बालकलाई हामीले सकुशल उद्धार गरेका छौं। एक अपहरणकारी पनि पक्राउ परेका छन्। अहिले यो भन्दा बढी भन्न मिल्दैन।’
परिवारसँगको सोधपुछबाट प्रहरीले अपहरणकारीसम्म पुगेको थियो। प्रहरी स्रोतका अनुसार अपहरणमा पर्ने बालकका आमाकी भतिजी तथा अपहरित बालकको दिदी नाता पर्ने व्यक्तिसँग अपहरणकारीको सिरिइबी भएको थियो।
अपहरित बालकको दिदी नाता पर्ने महिला आफ्नो पहिलाको श्रीमान्लाई छाडेर अर्कैसँग विवाह गरेर गएपछि पहिलाको श्रीमान् र बालकको परिवारबीच मनमुटाव भएको थियो। बालककै परिवारका कारण आफ्नी श्रीमती अर्कैसँग गएको भन्दै उनले बच्चा अपहरण गर्ने धम्की दिने गरेको परिवारले प्रहरीलाई बताएका थिए। परिवारकै सूचनाका आधारमा प्रहरीले हिजो राति एक अपहरणकारीलाई पक्राउ गर्न सफल भएको छ।
यद्यपि, प्रहरीले अपहरणकारीको नाम भने सार्वजनिक गरेको छैन। तराईका जिल्लाहरूमा छोरीमात्र भएका कारण छोराहरूको अपहरण गर्ने घटनाहरू पनि सार्वजनिक हुने गरेका छन्। त्यस्तै विभिन्न रिसिइबीका कारण अपहरणका घटनाहरु हुने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।