जनकपुर- गत आर्थिक वर्षमा प्रदेश २ का ५ जिल्लामा मात्र करिब २१ सय उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयअन्तर्गत प्रदेश २ का ५ जिल्ला धनुषा, महोत्तरी, सिरहा, सर्लाही रौतहटमा मात्रै २ हजार ९४ उजुरी परेका हुन्।
सबैभन्दा बढी उजुरी पर्ने जिल्लामध्ये धनुषामा ४ सय ९० उजुरी परेका छन् भने सबैभन्दा कममा उजुरी पर्नेमा सिराहा छ। सिराहामा ३ सय ४७ उजुरी परेका छन्।
त्यस्तै रौतहटमा ३ सय ८३, महोत्तरीमा ३ सय ७८ र सर्लाहीमा ३ सय ५० उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ।
अख्तियारमा कर्मचारी पदस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकासमा भएको भ्रष्टाचार सम्बन्धी उजुरी सबैभन्दा बढी परेको छ। अख्तियारको तथ्यांकअनुसार यी ५ जिल्लाहरुमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत १ हजार ३९ उजुरी परेका छन्।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित ५ सय १२, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयसँग सम्बन्धित १ सय ३४, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित ७४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित ६६, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित ५५, गृह मन्त्रालयसंग सम्बन्धित ५२ उजुरी परेका छन्।
यीमध्ये ७ सय ९२ उजुरी मात्रै फर्स्योट भएका छन् भने बाँकी १ हजार ३ सय २ उजुरीमा कारबाही हुन बाँकी छ।
बर्दिवास कार्यालयका निमित्त प्रमुख हरिप्रसाद घिमिरेले कार्यालयलाई छोटो समयमै प्रादेशिक कार्यालयको रुपमा रुपान्तरण गरिएकोले मुद्दा किनारा लगाउन कठिनाई भएको बताए। उनले भने, ‘हामीले यस वर्ष ३८ प्रतिशत मात्रै फर्स्योट गर्न सक्यौँ। चालु आर्थिक वर्षबाट यो प्रतिशत बढ्ने छ।’
यता अख्तियारको बर्दिवास कार्यालयलेगत वर्ष १५ भन्दा बढी स्टिङ अपरेसन गरेको थियो। ती अपरेसनमा दर्जनौं व्यक्ति घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए। पक्राउ पर्नेहरुमा अधिकांश जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।