जनकपुर- जनकपुरमा प्रहरीले नरिवल बेच्ने एक युवकलाई कुटपिट गरेको भन्दै युवाहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्।
नरिवल बेचेर गुजारा गर्ने १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेका थिए। पछि उनलाई जानकी चौकी लगेपछि स्थानीय युवा सुशील कर्ण त्यहाँ पुगेर किन कुटेको भन्दै प्रहरीलाई प्रश्न गरेपछि उनलाई पनि प्रहरीले कुटपिट गरे। जसका कारण स्थानीय युवा र व्यापारी प्रहरीमाथि आक्रोशित भई प्रदर्शनमा उत्रिएका हुन्।
चौधरीसँग प्रहरी जवान यादवले रकम मागेका थिए। तर मागेजति रकम नदिएपछि उनलाई कुटपिट गरेको आरोप पीडितको छ। उनको गालामा चोट देखिन्छ। घटनाबारे बुझ्न जाँदा आफूलाई पनि कुटेको सुशीलले बताए। आफ्नो टिसर्ट प्रहरीले च्यातिदिएको उनकाे भनाइ छ।
नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो स्थानीय युवा अगुवा एवं युवा नेता सुशील कर्णले खिचेर फेसबुकमा राखेपछि अवस्था बिग्रिएको हो। उनले फेसबुकमा प्रहरीको दमनबारे लेखेपछि जानकी प्रहरी चौकीका इन्चार्जले कर्णलाई बोलाएर हातपात गरेपछि युवाहरु आन्दोलनमा उत्रेका छन्।

कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न स्थानीय युवा र व्यापारीहरुले माग गरेका छन्। टायर बालेर उनीहरुले सडकसमेत अवरुद्ध गरेका छन्।
उनीहरुले जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि पनि प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।