रोल्पा- रोल्पा नगरपालिका-१०, धवाङकी तुला वली अहिले ३५ वर्षकी भइन्। १८ वर्षकै उमेरमा डोरबहादुर वलीसँग उनले मागी विवाह गरेकी थिइन्। विवाह गरेको १ वर्षपछि छोरी जन्मिइन्।
तुलाको जीवन संघर्ष केलाउँदै अझै अगाडि जाने हो भने ११ वर्षको छँदा उनले आमा गुमाइन्। बाल्यकालमै आमाको काख गुमाएकी तुलाले साथीहरुसँगै स्कुल जाने अवसर पनि गुमाइन्। आमाको मृत्युसँगै घरव्यवहार चलाउने, भाइबहिनीलाई हुर्काउने, पढाउने जिम्मेवारीमै समय खर्चिएकी उनले भनिन्, 'रहर त लाग्थ्यो नि!'
अभाव र जिम्मेवारीले उनलाई विवाहपछि छोडेन। २०६० साल भदौ २९ गतेको रात उनको जीवनका लागि कालो रात सावित भयो। उनले सदाका लागि श्रीमानको साथ गुमाइन्।
बितेको एक दशकका हरेक साँझ बेपत्ताका परिवारका लागि आसैआसका साँझ बने। दिनभर खेतीकिसानी गर्यो, बेलुका घरभित्र पस्नुअघि गोधूलिमा टोलाउँदै आफ्ना बेपत्ता भएका आफन्त आउने बाटो हेर्दै भित्र पस्यो।
आडमै सुतिरहेका श्रीमान्लाई तत्कालीन नेकपा (माओवादी) को एक समूहले एकैछिन काम छ भन्दै लिएर गए। पछि थाहा भयो उनलाई अपरहण गरिएको रहेछ। श्रीमान् अपहरणमा पर्दा छोरी २ वर्षकी थिइन्। बाबालाई चिन्न सक्ने भइसकेकी छोरीले अर्को बिहान उठेर बाबा पुकारेको तुलालाई अझै सम्झना छ। तर, ती अबोध बालिकालाई के थाहा उनको पुकार सुनेर बाबा फर्किँदैनन् भनेर।
'श्रीमान् फर्किनुहुन्छ कि भन्ने अझैसम्म आशा लाग्छ,' टाउको केही निहुराउँदै उनले भनिन्, 'दिनहुँजसो सम्झना आइरहन्छ। त्यसमाथि दसैंतिहार जस्ता चाडपर्वमा त उहाँ आउनुहुन्छ कि झैं लागेर बाटोतर्फ हेर्दै टोलाएर बसिरहन्छु।'
केही समयपछि श्रीमान्को हत्या भएको जानकारी मिल्यो। तर, तुलाको छातीमा गढेको श्रीमान्को सम्झना छुट्नेवाला थिएन। श्रीमान्कै सम्झनामा दिन बिताएको १६ वर्ष भइसक्यो उनले।
'बुवा नेपाली कांग्रेसका सामान्य कार्यकर्ता भए पनि मेरो श्रीमानलाई त राजनीतिप्रति कुनै चासो थिएन,' बितेको समयलाई उनले स्मरण गर्दै भनिन्, 'घरमै बसेर खेतीकिसानी गर्नु हुन्थ्यो। बुवाले राखेको फरक राजनीतिक आस्था नै मेरो श्रीमान्को हत्याको कारक बन्न पुग्यो।'
000
रोल्पा नगरपालिका-१, हरिगातिनाकी गोठी थापा सुत्केरी भएको १ महिना पनि पुगेको थिएन। २०५८ साल चैत्र २० गते साँझ तत्कालीन शाही नेपाली सेनाको एक हुल उनको घर पस्यो।
सुत्केरी स्याहारमा रहेका श्रीमान् हर्कलाललाई एकछिन काम छ भन्दै लगियो। जंगलको बाटो हुँदै गाउँका अन्य ४/५ जनालाई लिएर सदरमुकामतर्फ गएको देखेकी उनले श्रीमान् फर्किएको भने देख्न पाएकी छैनन्। त्यसयताका प्रत्येक दिन होस् या साँझ श्रीमान्कै सम्झनामा बित्ने गर्छन्।
हर्कलाललाई सेनाले कहाँ लग्यो गोठीको परिवारलाई अहिलेसम्म केही अत्तोपत्तो छैन।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो तर उनीहरुका आफन्त भने मरे कि ज्यूँदै छन् भने उनीहरुलाई अहिलेसम्म थाहा छैन।
'अहिले छोरी क्याम्पस पढ्ने भइसकिन्,' उनले भनिन्, 'सेनाले हर्कको श्वास छ या छैन, केही भनेको छैन। कम्तीमा हामीलाई जानकारी दिए त हुन्थ्यो।'
000
सोही गाउँकै प्रतिभा थापाका श्रीमान् ढाँटे थापालाई पनि हर्कलाई जसरी नै नेपाली सेनाको टोलीले घरबाटै लिएर गएको हो।
ढाँटेलाई सेनाले लग्दा उनीहरु बीच विवाह भएको २ वर्ष पनि पुगेको थिएन। साँझपख घरकै काममा व्यस्त रहेका बेला उनलाई सोधपुछ गर्नुछ भन्दै सेनाले उनलाई जंगलको बाटो हुँदै लिवाङतर्फ लगेको थियो।
त्यो बेला सेनाले सोधपुछपछि त पक्कै छोड्छ होला भन्ने लागेको थियो प्रतिभालाई। उनी नाबालक छोराको मुख हेरेर श्रीमान् फर्किने बाटो हेरे बसिन्। 'उनी एक दिन त अवश्य फर्केलान् नि भन्ने आश थियो,' केही गम्भीर देखिएकी उनले थपिन्, 'आसैआसमा वर्षौं बतिगए, तर उनी अझै फर्किएनन्।'
सशस्त्र युद्धताका राज्य पक्ष र विद्रोहीवाट बेपत्ता पारिएकाहरुका आफन्तजनका प्रतिनिधि पात्र हुन् यी। सशस्त्र विद्रोह शान्ति प्रक्रियामा रुपान्तरण भएको दशक बढी भइसक्यो।
बितेको एक दशकका हरेक साँझ बेपत्ताका परिवारका लागि आसैआसका साँझ बने। दिनभर खेतीकिसानी गर्यो, बेलुका घरभित्र पस्नुअघि गोधूलिमा टोलाउँदै आफ्ना बेपत्ता भएका आफन्त आउने बाटो हेर्दै भित्र पस्यो। यस क्षेत्रमा बेपत्ता परिवारको दैनिकी जस्तै बनेका छन्, यस्ता क्रियाकलाप।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो तर उनीहरुका आफन्त भने मरे कि ज्यूँदै छन् भने उनीहरुलाई अहिलेसम्म थाहा छैन।
राज्यसँग छैन यकिन तथ्यांक
जिल्लामा बेपत्ताको संख्या कति छ भन्ने राज्यसँग यकिन तथ्यांक छैन।
स्थानीय शान्ति समितिको अभिलेखअनुसार जिल्लामा ३३ जना बेपत्ताको सूचीमा छन्। राज्य पक्षबाट बेपत्ता पारिएका २७ र विद्रोही पक्षबाट बेपत्ता पारिएका ६ गरी ३२ जनाको अवस्था अझै अज्ञात रहेको शान्ति समितिको तथ्यांकले देखाउछ। यसरी बेपत्ता हुनेमध्ये ५ जना महिला र २७ जना पुरुष छन्।
स्थानीय शान्ति समितिको विवरणअनुसार यसरी बेपत्ता हुनेहरु मध्ये अधिकांश घर बाहिर गएको बेला बेपत्ता भएका कारण पनि घटनाको विस्तृत विवरणबारे परिवारसमेत अनभिज्ञ छन्।
बेपत्तामध्ये कसैलाई औषधिउपचार गर्दागर्दै अस्पतालबाटै त कसैलाई इँटाभट्टामा मजदुरी गर्दागर्दै बेपत्ता पारिएको थियो। रोल्पा कोर्चवाङकी २२ वर्षिया भद्रमाली विकलाई २०६० असोज १८ गते नेपाली सेनाले चितवन मेडिकल कलेजमा उपचाररत रहँदा बेपत्ता बनाएको थियो।
यसैगरी रोल्पाको सुलिचौर औषधि किन्न गएका खुमेलका २३ वर्षीय मनिराम रोकालाई २०५६ भाद्र ९ गते राज्य पक्षले बेपत्ता पारेको थियो। घरमा बसिरहेका रोल्पा कोटगाउँका ६४ वर्षीय लाटा दमाईलाई तत्कालीन विद्रोही नेकपा (माओवादी) पक्षले २०५९ साल जेष्ठ ५ गते बेपत्ता बनाएको थियो।
स्थानीय शान्ति समितिको विवरणअनुसार यसरी बेपत्ता हुनेहरु मध्ये अधिकांश घर बाहिर गएको बेला बेपत्ता भएका कारण पनि घटनाको विस्तृत विवरणबारे परिवारसमेत अनभिज्ञ छन्।
यता आइसिआरसीकोे अभिलेखअनुसार रोल्पा जिल्लामा ६७ जना बेपत्ता भएका थिए। जसमध्ये २ जना घर फर्किसकेका भनिएको छ। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको छानबिन आयोगले पछिल्लो पटक मागेको निवेदनमा १ सय १९ जनाले आफ्ना आफन्त बेपत्ता भएको भन्दै उजुरी दिएका छन्।
'आफ्ना मान्छे आउँछन् भन्दै दिनहुँ प्रतिक्षामा हुन्छौं,' गोठी थापाले भनिन्, 'मृत्यु भएकाहरुको परिवार त आफ्ना मान्छे सदाका लागि गुमाइसकेकोमा ढुक्क छन् तर बेपत्ताहरुको न लास न श्वासको अवस्था हुँदा पीडा हुँदो रहेछ।'
रोल्पा नगरपालिका-१, हरिगतातिनामा हर्कलाल थापा, ढाँटे थापा र कविराम खत्रीलाई नेपाली सेनाले एकै दिन गिरप्तार गरी बेपत्ता बनाएको हो। उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ।
सामूहिक गिरप्तारीपछि बेपत्ता भएकाका परिवार आफ्ना मान्छे फर्किने आशैआशमा बाँचिरहेका छन्। 'आफ्ना मान्छे आउँछन् भन्दै दिनहुँ प्रतिक्षामा हुन्छौं,' गोठी थापाले भनिन्, 'मृत्यु भएकाहरुको परिवार त आफ्ना मान्छे सदाका लागि गुमाइसकेकोमा ढुक्क छन् तर बेपत्ताहरुको न लास न श्वासको अवस्था हुँदा पीडा हुँदो रहेछ।'
सैद्धान्तिक रुपमा बेपत्ताहरुको अवस्था के छ भन्ने पत्ता नलागे पनि व्यवहारिक रुपमा अधिकांश परिवारजन मृत्यु भएकोमा विश्वस्त भइसकेका जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा बताउँछन्।
तत्कालीन नेकपा (माओवादी) को सेनाका कमाण्डरसमेत रहेका बुढाले परिवर्तनमा ठूलो भूमिका खेलेका बेपत्ताहरुको स्थीति सार्वजनिक गर्न सरकारसँग माग गरे। 'बेपत्ता आफन्तको स्थितिको बारेमा सत्यतथ्य थाहा नपाएर लामो समय आफन्तजन तड्पिरहेकाले यसको यथाशीघ्र निकास दिनुपर्छ,' बुढाले भने।
बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न गठन गरिएका आयोगले समेत काम नगर्नु दुःखद पक्ष भएको स्थानीय शान्ति समिति रोल्पाका पूर्वसंयोजक खिमबहादुर कुँवरको भनाइ छ। बेपत्ता पारिएकाहरुको परिवारलाई न्याय दिन पनि आयोगले छिटोछरितो काम गर्न सक्नुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।