कूटनीतिक सम्बन्ध स्थापना गर्ने समझदारीमा हस्ताक्षर गर्दै नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका प्रतिनिधि कोस्मोस रिर्चाडसन। तस्बिर : राष्ट्र संघका लागि नेपालको स्थायी नियोग।
काठमाडौं- नेपाल र टापु देश सेन्ट लुसियाबीच औपचारिक द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
मंगलबार न्युर्योकस्थित संयुक्त राष्ट्र संघका लागि सेन्ट लुसियाको स्थायी नियोगमा राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका प्रतिनिधि कोस्मोस रिर्चाडसनले एक समारोहबीच कूटनीतिक सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
न्युर्योकस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार हस्ताक्षर समारोहमा दुबै देशका राजदूतले औपचारिक सम्बन्ध स्थापनाले दुई देश र जनतालाई द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा अझै नजिक ल्याउने विश्वास व्यक्त गरे।
दुई देशबीचको सम्बन्ध स्थापनाबारे दुवै देशका राजदूतले राष्ट्र संघका महासविच एन्टेनियो गुटेरेसलाई संयुक्त रुपमा जानकारी गराएका थिए।
सेन्ट लुसिया क्यारेबियन समुद्रको टापु देश हो, जसको राजधानी क्यास्टेरिज हो। जम्मा ६ सय १७ वर्ग किलोमिटर क्षेत्रफल भएको सेन्ट लुसियाको जनसंख्या १ लाख ७० हजार रहेको छ। यहाँको अर्थतन्त्रमा पर्यटनले मुख्य योगदान पुर्याउँछ।
बेलायतको औपनिवेशबाट मुक्त भएपछि सेन्ट लुसिया सन् १९७९ मा राष्ट्र संघको सदस्य भएको थियो।
नेपाल र सेन्ट लुसिया विकासशील देशहरुको समूह जी-७७ र असंलग्न आन्दोलनका सदस्य हुन्।
योसँगै नेपालको १ सय ६७ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।