काठमाडौं- पछिल्लो पटक मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनियाँ ठेकेदार सिनो हाईड्रोलाई आयोजनाको काम नगर्न ज्ञापनपत्र बुझाएका छन्। पूर्व ठेकेदार सिएमसी पीडितहरूले नयाँ ठेकेदारलाई काम अघि नबढाउन ज्ञापनपत्र बुझाएका हुन्।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीले भुक्तानी नदिएपछि १८ गतेदेखि आन्दोलन चर्काउनेसमेत सिएमसी पीडितले बताएका छन्।
निर्माण सामग्री, सवारी तथा ढुवानीका साधन, कर्मचारी तथा मजदुरको भुक्तानी नपाएको भन्दै सिएमसीले आयोजनाको कामबाट हात झिकेसँगै पीडितहरू आन्दोलनरत छन्। 'सरकारले सीएमसीका सामग्री जफत गरेरै भएपनि भुक्तानी दिन बाँकी रकमबाट उपलब्ध नगराए मेलम्चीको काममा अवरोध गर्छौं,' उनीहरूले भने।
१८ गतेसम्म आफूहरूका माग सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने व्यवसायी र मजदुरहरूले चेतावनी दिए।
इटालियन कम्पनीले मेसिन उपकरण भाडामा दिने, निर्माण सामग्री आपूर्ति गर्ने व्यवसायी एवं कर्मचारी र मजदुरलाई भुक्तानी नदिई ९ महिनाअघि एकतर्फी ठेक्का तोडेर भागेको थियो।
सिएमसीले कर्मचारी, व्यवसायी र पेटी ठेक्का पाउने कम्पनीलाई गरी १ अर्ब ६७ करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले जुन प्रक्रियाबाट नयाँ ठेकेदार छनोट गर्यो त्यही प्रक्रियाबाट व्यवसायी र कामदारको भुक्तानी दिन सक्ने व्यवसायीको जिकिर छ।
आयोजनाले बाँकी काम सम्पन्न गर्न नयाँ ठेकेदार चयन गरेसँगै पीडित थप आन्दोलित भएका हुन्। आयोजनाको हेड बक्स र सुरुङको काम सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइएको छ। चिनियाँ कम्पनीले काम सुरु गर्नुअघि आफूहरूको रकम सरकारले उपलब्ध गराउनुपर्ने आन्दोलनकारीको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।