जनकपुर- प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संचार क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रदेश सरकारले कुनै अंकुश नलगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
संचार क्षेत्र बलियो भए मात्र संघीय र प्रदेश बलियो हुने भएकोले संचार क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकारले संचार सम्बन्धी विधेयक ल्याउन लागेको स्पष्ट पारेका हुन्।
नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश २ ले सोमबार जनकपुरमा आयोजना गरेको मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री यादवले प्रदेश सरकारले पत्रकारमैत्री कानुन ल्याउने दाबी गरे।
मन्त्री यादवले प्रदेश २ सरकारले पत्रकारको लागि जीवन बिमा कार्यक्रम ल्याउनुको साथै ५० प्रतिशत महिलाको लागि आरक्षणको व्यवस्था समेत गर्ने बताए।
'पत्रकारको वृत्ति विकास तथा क्षमता अभिवृद्धिको लागि आधारभुत र एडभान्स लेभेलको पत्रकारिता तालिमहरुको व्यवस्था गर्न लागेको छ। प्रदेशमा संचारग्राम, प्रादेशिक रेडियो, टिभीसमेत संचालन गर्ने सोचमा सरकार छ,' उनले भने।
मन्त्री यादवले अहिले मुलुकमा नागरिक समाजको कमजोर प्रस्तुति र उपस्थितिले गर्दा पनि मानव अधिकारको अवस्था कमजोर भएको बताए।
‘जहाँ नागरिक समाज बलियो हुन्छ, त्यहाँ सुशासन हुन्छ र जहाँ सुशासन हुन्छ, त्यहाँ भ्रष्टाचारको कुरा आउँदैन। तर, यहाँ नागरिक समाज पार्टीगत रुपमा विभाजित छ, कमजोर छ,’ उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।