डडेल्धुरा- सुदूरपश्चिमेलीहरुको महान पर्व गौराले सुदूपश्चिम प्रदेश नै गौरामय भएको छ। भाद्र ३ गतेबाट सुरु भएको गौराका विभिन्न स्थानमा गौरा महोत्वसहरुको समेत आयोजना भएका छन्। डडेल्धुरामा सोमबारदेखि सुरु भएको ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
सोमबार सुरु भएको गौरा महोत्सव १२ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ।
महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईच्म्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला डेउडा प्रतियोगिताको हुनेको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।
सुदूरपश्चिमको महानपर्व गौरा भदौ ३ गतेबाट आरम्भ भएको हो। बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिने गौराको मौलिकता भने विस्तारै हराउँदै गएको भन्दै सरोकारवालाले चिन्ता समेत प्रकट गरेका छन्। पौराणिककालमा हिमालयकी छोरी गौरी अर्थात् पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ।
कसरी मनाइन्छ गौरा?
गौरापर्वमा ब्रतालु तथा श्रद्धालु महिलाहरु द्धारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रुपमा प्रयोग हुन्छ। बिरुडा भिजाएको तेस्रो दिन महिलाहरुले सामूहिक रुपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति–मूर्ति बनाई गौराघरमा भित्रयाउँछन्। विविध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्रयाइ सकेपछि श्रद्धालु महिलाद्धारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ।
यसपछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक–आस्था र आपसी–सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा इष्ट–कुलदेवता प्रसन्न हुने जनविश्वास छ।
निख्रिदो झरिसंगै पन्चान्न (पाँच अन्न )को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ। भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ। गौरा एकादसि (पुत्रदा एकादसि) बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भएपनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइ सकेको हुन्छ।
दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्य सूचक मानिन्छ। कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन विश्वास छ। वास्तवमा हाम्रो देश सीता र पार्वतिको माइति देश पनि हो।
प्राचीन ह्यैवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरु बाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरु मारिदिए पछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।