काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग जिल्ला अदालत चितवनले ५ लाख धरौटी लिई रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो।
उनीसँगै पत्रकार युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखको आदेश सुनाइएको छ।
सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको थियो।
मुद्दा दायर गरिएसँगै आरोपीहरुको बयान र थुनछेक बहसपछि अदालतले आज यस्तो फैसला गरेको हो।
उनीहरुलाई हदैसम्मको अर्थात् ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनुपर्ने माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए।
उनले मर्नुअघि आफ्नो मोबाइलमा एक भिडियो बनाउँदै आत्महत्याको अवस्थासम्म पुर्याउनुमा टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्की जिम्मेवार रहेको बताएका थिए। सोही आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।
उनीहरु तीनै जना साउन ३० गते पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि दुई पटक गरी अदालतबाट ५/५ दिनको म्याद पाएको थियो।
रविका समर्थकहरुले उनको रिहाइको माग गर्दै सुरुदेखि नै प्रदर्शन जारी राखेका थिए। उनीहरुको प्रदर्शन उग्र हुन जिल्ला प्रशासन कार्यालय चितवनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र तोकेको छ।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।