काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेको पक्षमा भइरहेको जुलुसको सांसदहरुले विरोध जनाएका छन्।
अदालतले निर्णय गर्नुपर्नेमा भीडले निर्णय गर्न खोजिरहेको भन्दै सांसदले विरोध जनाएका हुन्।
सांसदहरू गजेन्द्र महत र प्रमोद शाहले रवि प्रकरणमा विषयमा बोल्दै उक्त ‘चितवन जात्रा’को संज्ञा दिए।
उक्त जात्रा निम्त्याउनुको दोषी भने सरकार नै भएको बताए।
सांसद महतले भने, ‘श्रम मन्त्रालयले रोजगार नदिँदा धेरै बेरोजगार भए भने गृह मन्त्रालयले मुद्दा नहेर्दा मान्छेहरु टेलिभिजन गुहार्न थाले।’
चितवन जात्रामा सरकार गम्भीर हुनुपर्ने बताउँदै उनले श्रम र गृह मन्त्रालयाथि रोष प्रकट गरे।
उनले भने, ‘गृह मन्त्रालयले जनताका मुद्दा हेर्दैन। गाउँका मान्छे कुखुरा च्यापेर धामीझाँक्री कहाँ पुग्छन्। शहरका मान्छेहरु टिभीमा पुग्दा रहेछन्।’
मनमुटु मिलेर एउटा होटेलमा बसेका प्रेमजोडी खोज्दै हिँड्न गृह प्रशासनले जनताको गुनासा नसुन्दा यस्तो अवस्था आएको उनको टिप्पणी थियो।
अहिले जता हेर्यो, त्यतै रवि प्रकरणका विषयमा कुरा भइरहेको बताउँदै अर्का सांसद प्रमोद शाहले भीडबाट निर्णय दिलाउन खोजिएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘अदालतको निर्णय आउनै बाँकी छ। केही मान्छे भीडबाट निर्णय गर्न लागि परेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।