डडेल्धुरा- जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले भाडाबापतको रकम नदिएको भन्दै उक्त कार्यालय रहेको भवनका धनीले तालाबन्दी गरेका छन्।
उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महिनाको भाडाबापतको रकम नदिएर कार्यालय अन्यत्रै भवनमा सार्न थालेपछि गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए। घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी गरेका हुन्, रकम नदिएरै घर सार्नु राम्रो होइन, उनले भने।
वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महिना घर भाडाबापतको रकम दिँदै आएको दाबी गरेका छन्। घरभाडाको रकम प्रत्येक महिना दिएकै छौं, साउनको बाँकी छ, उनले भने, कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन। किन ताला लगाए मैले नि बुझेको छैन।
तालाबन्दी गरिएपछि कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन्।
भवका धनी गोविन्द खड्काले घरभाडा नदिएकाले आफूले तालाबन्दी गरेको स्वीकार गरे। कहीँ घर नपाएको बेला मेरो घरभाडामा लिएर बस्ने अहिले भाडासमेत नदिएर अफिस सारेकाले तालाबन्दी गरेको हुँ, मेरो भाडा आए ताला खोल्छु, उनले भने।
उक्त वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक रु ५ हजार २ सयमा सम्झौता भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।