उदयपुर- उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले आफ्नो सुविधाका लागि सवारीसाधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गरेकी छन्। महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको उपमेयर राउतले बताएकी छन्।
कार्यपालिकाले नगरसभामार्फत् उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो। उपमेयर राउतले जनताको करबाट आफू विलासी सुविधा नलिने र भइरहेकै सवारी साधन प्रयोग गर्ने भन्दै एम्बुलेन्स खरिदको प्रस्ताव राखेको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताए।
शुक्रबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर राउतले आफ्नो सुविधाको लागि सवारी गाडी खरिद गर्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरी एम्बुलेन्स खरिद गर्ने प्रस्ताव गरेकी हुन्। सोही बमोजिम कार्यपालिकाले निर्णय गरेको प्रवक्ता दनुवारले उल्लेख गरे।
एम्बुलेन्स खरिद गर्ने र कटारी अस्पतालमा सुत्केरी हुने महिलाहरुलाई निःशुल्क घरसम्म एम्बुलेन्सको प्रयोग गर्ने उद्देश्य रहेको उपप्रमुख राउतले बताइन्। आफु जनताको सेवा गर्ने उदेश्यले निर्वाचित भएकोले जनताको सेवा पुग्ने काम गर्नु आफ्नो काम भएको र विकास नभएसम्म विलाशी गाडी चढ्नु शोभानीय नहुने उपमेयर राउतको भनाइ छ।
'जनता समस्यामा छन्। बाढ़ी,पहिरोले खेतीयोग्य जमीन कटान गरेको छ यो अवस्थामा म कसरी नयाँ गाडी खरीद गर्नु?' उपप्रमुख राउतले भनिन्, 'कटारी अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्केको १ वर्षभन्दा बढी भयो। बनाउन खर्च बढी लाग्ने भए पछी एम्बुलेन्स बिहीन भएको कटारी अस्पताललाई जनतालाई सहज होस भनेर नगरपालिकाले आफू चढ्न खरीद गर्न लागेको सवारी खरीद नगरी एम्बुलेन्स खरीद गर्न लागेको हो।'
उपमेयर राउतले नगरपालिकामा स्थानीय निकाय निर्वाचनअघि नै रहेको पुरानो सवारीसाधन प्रयोग गरिरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।