धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएको विषयमा टिप्पणी गर्ने एक युवक पक्राउ परेका छन्। कैलाली जिल्ला लम्कीचुहा नगरपालिकाका २६ वर्षीय हृदय उपाध्यायलाई इलाका प्रहरी कार्यालय लम्कीले आइतबार पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकुको निर्देशनमा हृदय उपाध्यायलाई पक्राउ गरेको जनाएको छ। उपाध्याय नेविसंघमा आबद्ध विद्यार्थी नेता समेत रहेको बुझिएको छ।
इलाका प्रहरी कार्यालयले अपराध महाशाखा टेकुले साइबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। उपाध्यायलाई अपराध महाशाखा टेकु पठाइने इप्रकाले जनाएको छ।
उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हाँक्ने उखाने, हप्तैपिच्छे स्वास्थ्य परीक्षण गर्न सिंगापुर उडछन् बिचरा जनता’भन्दै स्टाटस लेखेका थिए। यस्तै उनले ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ, राम्रो हुन्छ' भन्दै स्टाटस लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।