काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
उनले काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई सेवाग्राहीसँग रू.६ लाख ७५ हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा निज पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत कोइरालाले सेवाग्राहीले विश्वविद्यालयलाई जरीवानस्वरूप तिर्नु, बुझाउनु पर्ने रकमलाई मिलाइदिने प्रयोजनको लागि रू.६ लाख ७५ हजार) घुस लिएको बताइएको छ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले उनलाई विगो रू.६ लाख ७५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन मागदावी विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।