काठमाडौं- पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीले हिरासतमा राखेर टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता(रुकु) कार्कीमाथि १० दिन अनुसन्धान गरी फाइल सरकारी वकिलको कार्यालय चितवनमा बुझाएसँगै कार्यालयले मुद्दा अभियोगपत्र दायर गरेको थियो। सो मुद्दा जिल्ला अदालतमा आइतबार दर्ता भएको हो।
जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार आइतबार बिहान प्रहरीको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा आइपुगेको छ। सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारीमा रहेको शर्माले बताएका थिए।
१० दिनको म्याद अदालतबाट दुई पटक गरी पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई सुम्पिएको थियो। जिल्ला अदालतमा मुद्दा दर्ता हुनुअघि नै रविका कानुन व्यवसायीहरु समेत चितवन पुगेका थिए।
उनी विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर भएको हो। उक्त अभियोगमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ।
आरोपपत्र दायर भएका उनीहरुको बारेमा थुनछेक बहस आजैबाट सुरु हुने बताइएको छ। थुनछेक बहसका लागि आजै सुनुवाई माग गर्ने तयारी रवि पक्षका कानुन व्यवसायीले गरेका छन्। रविलगायत तीनै जना आजै हिरासतमुक्त हुन बयान गराई थुनछेक बहस हुनुपर्नेछ। त्यसो हुन नसकेमा उनीहरु न्यायिक हिरासतमा बस्नुपर्ने हुन्छ।
कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता लामिछाने, सोही कार्यक्रममा आवद्ध कँडेल र कार्की पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।