आलो रगतको सिम्रिक रङमा
चोपेर टुटिएको आस्थाको बूढो निब
बाँधिएको हातका अर्धस्वतन्त्र औंलाले
काटिएका जिब्राका लागि
वर्तमानको कालो छातीमाथि
कोरेकोे छु
मुक्ति गीतको-
नौलो सा रे ग म!
उसो त गीत
पहिले पनि
तातेका सडकका छातीमाथि लेखेकै हुँ
नानीहरूका अबोध स्वप्निल आँखामा पनि लेखेकै हुँ
शोषणग्रस्त अँध्यारा बस्तीका जीर्ण पर्खालभरि पनि लेखेकै हुँ
तर लेख्दालेख्दै मेटिउन्जेल औंलाका चक्रहरू
स्वयम् गीतका शब्दहरू नै बिलाइसकेछन्
बाँकी छाडेर
गरिबीको सुस्केराजस्तो
रित्तो सिम्फोनी!
गीत केको लेखियो
अब केको लेख्ने
कुन धरतीको कुन पानामा लेख्ने
असमञ्जस छ अक्षरको वकालत गर्ने समय
छैन कुनै न्यायिक तराजू
जसले बुझोस् मेरो गीतको भाका र भाखा
स्वयम् मुख थुनिएको र हात बाँधिएको म
तैपनि लेख्न खोजेको छु यो नयाँ गीत
सत्तालाई यो मखमली कोमल नलाग्न पनि सक्छ
अथवा, यो द्रोही र राष्ट्रघाती लाग्न सक्छ
तर म चाहन्छु
कर्कशे नै सही
भरियोस् यसमा लय
र बेसुरा नै सही
गाइयोस्
यो अँध्यारोको साम्राज्यमा
हुँडार र ब्वाँसाहरु तर्सने गरी।
०००
(कवि नगरकोटीको कवितासंग्रह 'सन्नाटाको लय'बाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।