रोल्पा- निर्वाचन भएको दुई वर्ष बित्दासमेत अपेक्षाकृत उपलब्धि नदेखिएपछि स्थानीय सरकारहरुले केही योजनालाई विशिष्टीकृत गरी नतिजामुखी बनाउने कामको थालनी गर्न लागेका छन्। दुई वर्ष अन्योलमै बिताएका स्थानीय सरकारहरु यतिबेला जनताले देख्ने गरी योजना कार्यान्वयन गर्ने तयारीमा छन्।
रोल्पाका अधिकांश गाउँपालिकाले पर्यटन विकास र प्रवर्द्धनलाई जोड दिँदै आएका छन्। जिल्लामा बहुपर्यटकीय आयामको सम्भावना बोकेको रुन्टीगढी गाउँपालिकाले सघन पर्यटन विकासको अवधारणा अघि सारेसँगै यसको विकास र प्रवर्द्धनमा सकारात्मक संकेत देखिन थालेको छ।
स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टीको धार्मिक पहिचान जोडिएको रुन्टीगढीले पछिल्लो पटक हिल स्टेसनको अवधारणासमेत अघि सारेको छ। १० वर्षे माओवादी द्वन्द्वको सुरुआती भएको जनाउ दिन २०५२ फागुन १ गते पहिलो पटक प्रहरी चौकी आक्रमण गरेसँगै चर्चाको शिखरमा रहेकाले पनि सो स्थान धेरैका लागि चासोको क्षेत्र बन्दै आएको छ।
धार्मिक, पर्या र युद्ध पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले समेत यसको विकास र प्रचार प्रसारमा जोड दिँदै आएको छ। पर्यटनको विकासका लागि अघिल्लो वर्ष राष्ट्रिय स्तरका दुई कार्यक्रम गरेका थिए। राष्ट्रिय अक्षर महोत्सव नाम दिइएको उक्त कार्यक्रममा देशभरका साहित्यकार, लेखक तथा पत्रकारहरुको जमघट भएको थियो। विकास सम्मेलन नाम दिएर गरेको अर्को कार्यक्रममा समेत गाउँपालिकाको पर्यटनले विशेष प्राथमिकता पाएको थियो। गाउँपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए। 'हिल स्टेसन,धार्मिक र युद्ध पर्यटनलाई सँगसँगै जोडेर लैजाने गरी काम गरिरहेका छौं,' अध्यक्ष बुढाले भने।
विकास सम्मेलनपछि होलेरीलाई हिल स्टेसन बनाउन सकिने विषयले प्रवेश पाएको हो। ५ नम्बर प्रदेशको स्थायी राजधानी बन्ने चर्चा चलेको दाङको घोराहीबाट निकै छोटो दुरीमा पुगिन्छ होलेरी। दाङको धुलो, धुँवा, र उकुसमुकुस गर्मीले आक्रान्त मानिसहरु होलेरीको शान्त, शीतल र रमणीय वातावरणमा केही दिन रम्न र घुम्न पाउदा आफूलाई भाग्यमानी ठान्छन्। बर्सातको मौसममा होलेरीलाई छपक्क छोप्ने कुहिरो तथा सिमसिम पर्ने पानीले स्वर्गको अनुभूति दिन्छ।
दाङको घोराहीबाट ३० किलोमिटर दुरीमा रहेको होलेरीसम्म पुग्ने सडक कालोपत्रे भएको छ। बस यात्रामा बढीमा डेढ घन्टा दुरी रहेको सो क्षेत्र प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ। महाभारत पर्वत शृंखलाको शिखरमा रहेको मनमोहक होलेरी निकै सुन्दर देखिन्छ। घोराहीबाट सुरु भएको सहिद मार्ग हुँदै होलेरी जाने पर्यटकहरु बाटामा पर्ने बाह्रकुने ताल र कोइलाखानीको समेत स्थलगत अवलोकन गर्न सक्छन्। दाङको अत्यासलाग्दो तापक्रम, पर्यावरण र होहल्लाबीच छल्दै नागबेली सडकमार्फत होलेरी पुग्दा अद्भूत आनन्दको अनुभूति हुन्छ। डाँडैभरि फुलेका लालीगुराँस र फलेका काफल, चुत्रो, ऐँसेलुको स्वाद लिँदै होलेरी यात्रा कम आनन्दको छैन। भ्यूटावरविना दाङ उपत्यकालाई दृश्यावलोकन मात्रै होइन, भारतको विभिन्न भूगोलसमेत सोही स्थानवाट दृश्यावलोकन गर्न सकिन्छ।
होलेरी रुकुम पूर्व र पश्चिमोत्तर रोल्पाको भूगोल प्रवेशद्वारको रुपमा रहेका छन्। दाङबाट सुरु भएको सहिदमार्ग होलेरी हुँदै रुकुमको चुनवाङ र रोल्पाको थवाङसम्म पुगेको छ। रुकुमबाट डोल्पासम्म जोड्ने रणनीतिक महत्व बोकेको सो सडक विस्तारसँगै होलेरीलाई कर्णालीसम्म जोड्ने सम्भावनासमेत रहेको छ।
होलेरी पुग्ने पर्यटकको रोजाइको केन्द्र गढीलेख हुन सक्छ। समुद्र सतहबाट २ हजारभन्दा बढी उचाइमा अवस्थित गढीलेखमा रहेको भ्यूटावरवाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी जस्ता हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। होलेरी बजारबाट गढीलेख पुग्न कच्ची सडक भए पनि पैदलयात्रीहरुका लागि सिँढीको व्यवस्था गरिएको छ। होलेरी बजारवाट करिब ३ किलोमिटर दुरीमा अवस्थित गढीलेख प्राकृतिक र ऐतिहासिक धरोहरको रुपमा रहेको छ। स्वर्गद्वारी जानुअघि महाप्रभुले गढीलेखमा तपस्या गरी ज्ञान प्राप्त गरेको सुनिन्छ। बाइसे चौबिसे राजाको दरबारसमेत रहेकाले सो स्थान सामरिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ।
होलेरी बजारवाट १७ किलोमिटर दुरीमा रहेको रुन्टी गाउँ अर्को महत्वपूर्ण स्थल हो। स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टीसम्म पुग्न सडक जोडिएको छ। महाप्रभु जन्मेको गाउँमा अहिले उहाँका १५ घर नातेदार रहेका छन्। सो स्थानमा रहेका केही मन्दिरमा अझैसम्म पूजापाठ हुँदै आएको छ।
होलेरीकै आसपासमा पर्ने झेनाम गैरा गाउँमा शिव पार्वती गुफा पनि अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो। होलेरी बजारबाट झन्डै आधा घन्टा पैदलयात्रमा पुगिने सो गुफामा विभिन्न आकृतिहरु देख्न सकिन्छ। करिब ६० मिटर लम्बाइको दुरीमा रहेको सो गुफा हेर्न आउनेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ।
२०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा तत्कालीन माओवादीले रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी र कालिकोटको राडी जिउला रोज्दा रोल्पाको होलेरी प्रहरी चौकी रोजेको थियो। प्रतिक्रियावादी राज्यसत्ता ध्वंश गरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं भन्ने नारालाई फौजी कारबाहीसहित कार्यान्वयन गर्ने नेपालकै पहिलो स्थान बन्यो होलेरी।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दोस्रो पटक पुनः सोही चौकी आक्रमण भयो। ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीच आमनेसामने भएको हिसाबले पनि होलेरी चर्चित वन्यो। माओवादी सेनालाई घेराबन्दीमा पारेको तत्कालीन शाही नेपाली सेनाले गोली हान्ने आदेश नपाउँदा पछि हट्नुपरेको घटनाले पनि सो स्थान चर्चित बन्न पुग्यो।
माओवादीले तयार गरेका ७ डिभिजन लडाकुमध्ये ५औं डिभिजनका लडाकु बसेको मुख्यालय पनि होलेरीदेखि नजिकै पर्छ। नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक डिभिजनको रुपमा उवा र तिला पनि होलेरी बजारदेखि नजिकको दुरीमा रहेका छन्।
हिल स्टेसनको रुपमा चर्चा पाउँदै गरेको होलेरीलाई पर्यटनका अन्य सम्भावनासँग समेत जोड्ने गरी बहस सिर्जना गरिएको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दीपक डिसीको भनाइ छ।
'रुन्टीगढी गाउँपालिका समृद्धिको पहिलो आधार पर्यटन हुन्छ,' डाँगीले भने, 'होलेरीलाई केन्द्रमा राखेर त्यस वरपरका पर्यटकीय क्षेत्रलाई समेत जोडेर हिल स्टेसन बनाउनुको साथै अन्य पर्यटन विकासको समेत कार्य थालनी भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।